झापा । नाबालिग अवस्थामै युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा झापाको मेचीनगरका ४० वर्षीय अशोककुमार राई पक्राउ परेका छन्।
मेचीनगर नगरपालिका–१५ निवासी राईलाई इलाका प्रहरी कार्यालय धुलाबारीले पक्राउ गरेको हो। पीडित युवतीकी आमाले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटना हुँदा युवती नाबालिग थिइन्। राईले ललाई–फकाई जबर्जस्ती करणी गरेको आरोप उनीमाथि लागेको छ। अहिले युवती १८ वर्ष पुगिसकेकी छन्। उनी हाल आठ महिनाको गर्भवती रहेको जनाइएको छ।
न्याय माग्दै युवती र उनकी आमा मेचीनगर नगरपालिका पुगेका थिए। नगरपालिकाबाट बलात्कारसम्बन्धी मुद्दा प्रहरीमार्फत अघि बढाउनुपर्ने भन्दै उनीहरूलाई प्रहरीकहाँ पठाइएको थियो।
पक्राउ परेका राई विवाहित रहेको र उनका श्रीमती तथा छोराछोरीसमेत रहेको प्रहरीले जनाएको छ।
हाल पीडित युवतीलाई आफन्त नेपाल काँकडभिट्टाको संरक्षणमा राखिएको छ। राईलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाका सम्बन्धमा आवश्यक प्रमाण तथा बयान संकलन गरी कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।










