काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सञ्चालनका सन्दर्भमा सहमति भएको छ ।
प्रदेशहरूमा देखिएको राजनीतिक अस्थिरता र बजेट निर्माणमा उत्पन्न अवरोधलाई अन्त्य गर्दै सुशासन र विकासको गतिलाई तीव्रता दिन दुई दलबीच सहकार्य गर्ने सम्झौता भएको हो । शनिवार भएको सहमतिअनुसार पाँच वटा प्रदेशको नेतृत्व बाँडफाँट टुङ्ग्याइएको छ । जसअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको सरकारको नेतृत्व नेकपा (एमाले)ले गर्नेछ । त्यसै गरी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले सम्हाल्ने सहमति भएको छ ।
मधेस र गण्डकी प्रदेशको हकमा भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत आवश्यक परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमति पत्रमा उल्लेख छ । पछिल्लो समय प्रदेशहरूमा बजेट निर्माणमा देखिएको असमझदारी र बजेट विहीनताको अवस्थालाई मध्यनजर गर्दै राजनीतिक स्थिरता कायम गर्न यो कदम चालिएको दुई दलले जनाएका छन् ।
जनताको चाहना अनुरूप प्रादेशिक विकासलाई अघि बढाउन संयुक्त सरकार गठन गर्ने र प्रदेश सभाहरूमा प्रभावकारी सहकार्य गर्ने निर्णय गरिएको छ । उक्त सहमति पत्रमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले हस्ताक्षर गरेका छन् ।










