|
824 SHARES |
झापा । झापाको दमकमा डेरीमा कार्यरत एक भारतीय युवकको छुरा प्रहारबाट हत्या भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भारतको उत्तर प्रदेश राज्य, लखनउ निवासी अन्दाजी ३५ वर्षीय साहिल कान्तको धारिलो हतियार (छुरा) प्रहारबाट मृत्यु भएको हो।
प्रहरीका अनुसार दमक नगरपालिका–२ स्थित हिमाली माध्यमिक विद्यालय नजिक डेरा गरी बस्दै आएका साहिल कान्त र लखनउकै मोहम्मद सोनु भन्ने सहवाज हुसेनबीच शुक्रबार विवाद भएको थियो। विवादका क्रममा हुसेनले कान्तको घाँटीमा छुरा प्रहार गरेका थिए।
गम्भीर घाइते भएका कान्तलाई उपचारका लागि दमक अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा बिहान करिब ६:३० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि फरार भएका आरोपित हुसेनको खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ। घटनास्थलमा उनीहरूसँगै डेरा गरी बस्ने एक महिला र एक पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। अनुसन्धानको क्रममा उनीहरुले डेरीमा काम गर्न नेपाल आएको बताएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहान करिब ५ बजे कोठाबाट आवाज आएपछि घरधनीले हेर्न जाँदा कान्त रगताम्य अवस्थामा फेला परेका थिए। त्यसपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले घाइते कान्तलाई अस्पताल पुर्याएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
नोट : यसअघि प्रकाशित समाचारमा उनीहरू कार्यरत रहेको डेरीसम्बन्धी विवरण गलत उल्लेख भएकाले सच्याइएको छ।










