|
777 SHARES |
शिवसताक्षी, असार २४ । नेपाली कांग्रेस शिवसताक्षी नगर सभापति अशोक बस्नेतको विशेष पहलमा शिवसताक्षी नगरपालिका–९ दुधे बजार क्षेत्रमा लामो समयदेखि सडक मानवका रूपमा कष्टकर जीवन बिताइरहेकी एक असाहाय महिलाको उद्धार गरिएको छ।
करिब पाँच वर्षदेखि नगरका विभिन्न स्थानमा बेवारिसे अवस्थामा बस्दै आएकी अन्दाजी ५०–५५ वर्षीया ती महिलालाई मेची–महाकाली बुहारी संयुक्त आवाजको समन्वयमा उद्धार गरी सुनसरीको इटहरीस्थित ‘माया घर नेपाल’ पठाइएको हो।
स्थानीयका अनुसार ती महिला मानसिक समस्याबाट पीडित थिइन्। उनी बोल्न नसक्ने अवस्थामा रहेकी थिइन् भने बेलाबेला नग्न तथा अर्धनग्न अवस्थामा सडक र सार्वजनिक स्थानमा देखिने गरेकी थिइन्। पहिचानसमेत खुल्न नसकेकी उनलाई संरक्षण र उपचारको आवश्यकता रहेको निष्कर्षपछि उद्धार प्रक्रिया अघि बढाइएको नेपाली कांग्रेस शिवसताक्षी नगरका सभापति अशोक बस्नेतले जानकारी दिए।
उद्धार अभियानलाई सफल बनाउन नेपाली कांग्रेसका नगर सभापति अशोक बस्नेतले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। अभियानमा नेपाली कांग्रेसकी नेतृ तथा समाजसेवी सीता बास्कोटाको पनि सक्रिय सहभागिता रहेको थियो। उनीहरूको पहलपछि मेची–महाकाली बुहारी सङ्घ, स्थानीय सञ्चारकर्मी तथा सरोकारवालाहरूको सहकार्यमा महिलालाई सुरक्षित रूपमा उद्धार गरिएको हो।
उद्धार गरिएकी महिलालाई शिवसताक्षी नगरपालिकाको एम्बुलेन्समार्फत इटहरीस्थित ‘माया घर नेपाल’ पुर्याइएको मेची–महाकाली बुहारी संयुक्त आवाजले जनाएको छ। माया घरमा उनको उपचार, संरक्षण तथा आवश्यक हेरचाहको व्यवस्था गरिने बताइएको छ।
लामो समयदेखि सडकमा कष्टकर जीवन बिताइरहेकी महिलाको उद्धारमा राजनीतिक नेतृत्व, सामाजिक अभियानकर्मी र सञ्चारकर्मीबीच भएको समन्वयलाई स्थानीय बासिन्दाले सकारात्मक उदाहरणका रूपमा लिएका छन्। विशेष गरी नगर सभापति बस्नेतको पहल र नेतृ बास्कोटाको सक्रियताले एक असाहाय नागरिकलाई सुरक्षित आश्रयसम्म पुर्याउन महत्त्वपूर्ण योगदान दिएको स्थानीयवासीको भनाइ छ।










