नगरसभा बहिष्कार गरेका शिवसताक्षी–२ का वडाअध्यक्ष नेम्बाङले सार्वजनिक गरे गम्भीर असहमति



691 SHARES

झिलझिले । शिवसताक्षी नगरपालिका वडा नं. २ का अध्यक्ष भीम नेम्बाङले नगरपालिकाको १८औँ नगरसभाप्रति गम्भीर असहमति जनाउँदै नगरसभा बहिष्कार गरेका छन्।

बुधबार जारी गरिएको प्रेस विज्ञप्तिमार्फत अध्यक्ष नेम्बाङले वडा नं. २ लाई कुनै आधिकारिक पत्र, इमेल वा अन्य माध्यमबाट नगरसभाको जानकारी नै नदिई सभा सञ्चालन गरिएको आरोप लगाएका छन्। उहाँका अनुसार यस्तो कार्यले स्थानीय सरकार सञ्चालनको आधारभूत मान्यता, पारदर्शिता, समावेशिता तथा जनप्रतिनिधिको अधिकारमाथि प्रत्यक्ष हस्तक्षेप गरेको छ।

विज्ञापन

नेम्बाङले नगरसभामा प्रस्तुत बजेट तथा कार्यक्रम कार्यपालिकामा पर्याप्त छलफल नै नगरी एकपक्षीय रूपमा समावेश गरिएको दाबी गरेका छन्। जनप्रतिनिधिबीच सहमति हुनुपर्ने विषयलाई बेवास्ता गर्दै बजेट प्रस्तुत गरिएको भन्दै उहाँले यसलाई स्थानीय सरकार सञ्चालन ऐनको मर्म र भावना विपरीत भएको उल्लेख गरेका छन्।

विज्ञापन

विज्ञप्तिमा वडा नं. २ लाई नियमित सिलिङ बजेटबाहेक कुनै उल्लेखनीय योजना तथा कार्यक्रम नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ। नगरका अन्य वडामा विभिन्न योजना समावेश गरिँदा वडा नं. २ लाई विकास योजनाबाट वञ्चित गरिएको र यसमा राजनीतिक पूर्वाग्रह तथा दलगत विभेद भएको आरोपसमेत लगाइएको छ।

त्यसैगरी नगर प्रमुख, उपप्रमुख र कर्मचारीबीचको मिलेमतोमा योजना छनोट, बजेट विनियोजन तथा तालिम र विभिन्न कार्यक्रमका नाममा नीतिगत अनियमितता भइरहेको विषयमा गम्भीर शंका रहेको नेम्बाङको भनाइ छ। उहाँले आगामी दिनमा प्रमाण र तथ्यका आधारमा यस्ता विषय क्रमशः सार्वजनिक गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ।

वडा नं. २ तत्कालीन नेकपा (माओवादी केन्द्र) तथा हाल नेपाल कम्युनिस्ट पार्टीबाट निर्वाचित एक मात्र वडा भएकै कारण राजनीतिक पूर्वाग्रहका आधारमा विभेद गरिएको हुन सक्ने आशंका पनि उहाँले व्यक्त गर्नुभएको छ। स्थानीय सरकार सबै नागरिकको साझा संस्था भएकाले सबै वडाप्रति समान व्यवहार हुनुपर्ने उहाँको धारणा छ।

उल्लेखित कारणहरूका आधारमा आफूले १८औँ नगरसभामा भएका निर्णयहरू अस्वीकार गर्दै नगरसभा बहिष्कार गरेको जानकारी गराउँदै अध्यक्ष नेम्बाङले नगरपालिकामा सुशासन, पारदर्शिता, विधिसम्मत निर्णय प्रक्रिया तथा समान विकास सुनिश्चित गर्न नागरिक समाज, सञ्चारमाध्यम र सरोकारवालाको साथ र सहयोगको अपेक्षा गरेका छन्।

यस विषयमा शिवसताक्षी नगरपालिका को तर्फबाट भने समाचार तयार पार्दासम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय