अर्जुनधाराामा मनसुनजन्य विपद् प्रतिकार्य तथा पूर्वअभ्यास तालिम सम्पन्न

अर्जुनधारा । वर्षायाममा हुनसक्ने सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै अर्जुनधारा नगरपालिकामा आयोजित मनसुनजन्य विपद् प्रतिकार्य तथा पूर्वअभ्यास तालिम सम्पन्न भएको छ। तीन दिनका लागि तय गरिएको तालिम विभिन्न कारणवश दुई दिनमै सम्पन्न गरिएको हो।

नगरपालिकाको वातावरण शाखाको आयोजना तथा कोशी प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म चन्द्रगढीको सहयोगमा सञ्चालन भएको तालिमको दोस्रो तथा अन्तिम दिन अर्जुनधारा–११ स्थित सालबारी झिलमा मनसुनजन्य विपद्बाट हुनसक्ने घटनाको उद्धार अभ्यास गरिएको थियो। कार्यक्रममा वाटर रेस्क्यू, बोटमार्फत गरिने उद्धार तथा डोरीको प्रयोगबाट गरिने उद्धारसम्बन्धी अभ्यास गराइएको थियो।

विज्ञापन

तालिमलाई कोशी प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म चन्द्रगढीका प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठको नेतृत्वमा प्रहरी नायब निरीक्षक सुवास मिश्र, प्रहरी सहायक निरीक्षक सुसान्त पौडेल, चेतन दाहालसहित आठ सदस्यीय टोलीले सहजीकरण गरेको थियो। तालिममा विपतउद्धारबारे जानकारी, प्राथमिक उपचार, बिरामी बोक्ने तरिका, आगलागीको प्रकार तथा परिचय, दमकलको प्रयोग, आगो नियन्त्रण गर्ने विधिलगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

विज्ञापन

समापन कार्यक्रम नगरप्रमुख बलदेवसिंह गोम्देनको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नगरप्रमुख गोम्देनले तालिमबाट सिकेका सीप र ज्ञानलाई व्यवहारमा लागू गर्न सहभागीहरूलाई आग्रह गर्दै अर्जुनधारा क्षेत्रमा मनसुनका समयमा बाढी, डुबान तथा अन्य विपद्का घटना बढी हुने भएकाले यस्ता तालिमले पूर्वतयारीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा उपप्रमुख खड्गमाया पराजुलीसहित नगरप्रमुख गोम्देनले तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए भने तालिमका सहजकर्ता प्रहरी टोलीलाई प्रशंसापत्र प्रदान गरिएको थियो।

वातावरण शाखा प्रमुख सपना रिमालले सञ्चालन गरेको कार्यक्रममा सामुदायिक वनका रक्षक, वडास्तरीय विपद् प्रतिकार्य कार्यदल, रेडक्रसकर्मी, नगर प्रहरी, युवा क्लबलगायत विभिन्न सरोकारवाला निकायका करिब ५० जनाको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय