झापा। प्रशान्त महासागरमा विकसित हुँदै गएको एल निनोको प्रभावका कारण नेपालमा यस वर्ष मनसुन भित्रिन ढिलाइ भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा सामान्यतया जुन १३ मा मनसुन प्रवेश गर्ने भए पनि जुन १६ सम्म पनि मनसुन भित्रिएको छैन र अझै केही दिन लाग्न सक्ने अनुमान गरिएको छ।
विभागले यस वर्ष मनसुन कमजोर हुने, देशका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने तथा अधिकतम तापक्रम सामान्यभन्दा बढी रहने प्रक्षेपण गरेको छ। हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका केही हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा भइरहेको छ।
विश्व मौसम विज्ञान संगठन ९डब्ल्यूएमओ० ले पनि एल निनो सक्रिय हुने सम्भावना उच्च रहेको जनाउँदै आगामी महिनाहरूमा विश्वव्यापी तापक्रम वृद्धि तथा चरम मौसमी घटनाको जोखिम बढ्ने चेतावनी दिएको छ। युरोपेली संघको संयुक्त अनुसन्धान केन्द्र ९जेआरसी० ले एल निनोको प्रभाव सन् २०२७ सम्म महसुस हुन सक्ने जनाएको छ।
विज्ञहरूका अनुसार एल निनो सक्रिय हुँदा दक्षिण एसियासहित नेपालमा सामान्यभन्दा कम वर्षा हुने, खडेरी, अत्यधिक गर्मी तथा अन्य जलवायुजन्य जोखिम बढ्ने सम्भावना रहन्छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्भावित बलियो एल निनोलाई विश्वका लागि महत्वपूर्ण जलवायु चेतावनीका रूपमा लिनुपर्ने बताएका छन्।









