|
730 SHARES |
अर्जुनधारा । अर्जुनधारा उद्योग वाणिज्य संघको आयोजना तथा अर्जुनधारा नगरपालिकाको आर्थिक सहयोगमा आगामी असार ३ गतेदेखि तीनदिने रोजगार मेला आयोजना हुने भएको छ। मेला असार ३, ४ र ५ गते शनिश्चरे चौक बजार क्षेत्रमा सञ्चालन गरिनेछ।
अर्जुनधारा उद्योग वाणिज्य संघका अध्यक्ष इन्दिवर खड्काका अनुसार दक्ष जनशक्तिको अभाव तथा बढ्दो बेरोजगारी समस्यालाई सम्बोधन गर्ने उद्देश्यसहित रोजगार मेला आयोजना गर्न लागिएको हो। मेलामार्फत करिब १८० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराउने लक्ष्य राखिएको उनले बताए।
उनका अनुसार मेलापछि अदक्ष कामदार तथा रोजगारीको खोजीमा रहेका युवा–युवतीलाई विभिन्न सीपमूलक तालिम प्रदान गरी स्वरोजगारतर्फ उन्मुख गराउने योजना पनि रहेको छ।

मेलामा रोजगारीका अवसरसँगै जातीय झाँकी, सांस्कृतिक कार्यक्रम तथा धार्मिक पर्यटन प्रवर्द्धनसँग सम्बन्धित गतिविधिहरू समेत समावेश गरिनेछन्। कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ।
अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले रोजगार मेला आयोजना गर्न केही ढिलाइ भए पनि यसले स्थानीय आर्थिक समृद्धिको आधार निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले यस्ता कार्यक्रमले सामाजिक विकासमा योगदान पुर्याउनुका साथै नागरिकलाई उपलब्ध रोजगारीका अवसरबारे जानकारी गराउने बताए।

नगरप्रमुख गोम्देनले अर्जुनधारावासीलाई रोजगार मेलामा सहभागी भई अवसरको सदुपयोग गर्न आग्रह गर्दै सकेसम्म धेरै नागरिकले रोजगारी प्राप्त गर्न सकून् भन्ने नगरपालिकाको अपेक्षा रहेको उल्लेख गरे।
आयोजकका अनुसार मेलामा सीप सिक्न इच्छुकहरूका लागि विभिन्न विधाका तालिमसमेत सञ्चालन गरिनेछ। बेकरी, इलेक्ट्रीसियन लगायतका क्षेत्रमा छुट्टाछुट्टै स्टल स्थापना गरी व्यावहारिक तालिम प्रदान गरिने जनाइएको छ।









