काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुन लागेको २०२६ फिफा विश्वकप फुटबल केवल खेलकुदको महोत्सवमा सीमित नरही संगीत, मनोरञ्जन र ग्ल्यामरको उत्सवका रूपमा पनि प्रस्तुत हुने चर्चा छ।
विश्वकप उद्घाटन समारोहमा विश्वप्रसिद्ध कलाकारहरूको सहभागिता रहने बताइएको छ। ‘वाका वाका’ गीतकी चर्चित गायिका साकिरा, कोलम्बियाली गायक जे बाल्भिन, रयान कास्त्रो तथा अन्य स्थानीय कलाकारहरूले मेक्सिको सिटीमा सांगीतिक प्रस्तुति दिने चर्चा छ। हलिउड अभिनेत्री सल्मा हायेकले विश्वभरका फुटबल समर्थकलाई स्वागत गर्ने कार्यक्रम रहेको बताइएको छ।
यसैगरी अमेरिकाको लस एन्जलसमा हुने विशेष समारोहमा क्याटी पेरी, अनित्ता, लिसा, रेमा र टाइलाजस्ता अन्तर्राष्ट्रिय कलाकारले प्रस्तुति दिने सम्भावना रहेको जनाइएको छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनो ले विश्वकपले सांस्कृतिक विविधता र संगीतको विश्वव्यापी प्रभावलाई झल्काउने बताएका छन्।
सह–आयोजक राष्ट्र क्यानडामा हुने समारोहमा बलिउड अभिनेत्री तथा नृत्यांगना नोरा फतेही को विशेष प्रस्तुति रहने चर्चा छ। उनीसँगै अलानिस मोरिसेट, एलेस्सिया कारा, माइकल बबल र विलियम प्रिन्सले पनि दर्शकलाई मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ।
उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै
सांगीतिक रौनकका बीच मैदानमा भने पहिलो खेल आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच हुनेछ। मेक्सिको सिटीमा हुने यो खेलअघि आयोजक राष्ट्रका अलेक्जान्द्रो फर्नान्डिजले मेक्सिकोको र टाइलाले दक्षिण अफ्रिकाको राष्ट्रगान गाउनेछन्। समूह ‘ए’ अन्तर्गतकै अर्को खेलमा चेक गणतन्त्र र दक्षिण कोरिया आमने-सामने हुँदैछन्। दक्षिण कोरियाली टोलीको कप्तानी अमेरिकी मेजर लिग खेलिरहेका स्टार सन ह्युङ मिनले गर्नेछन्।









