पाथिभरा विद्यालयको चुनौती : शिक्षा उत्कृष्ट भएपनि सवारी नहुँदा विद्यार्थी फर्किए

विनोद सापकोटा

जेठ २७, झापा । शिवसताक्षी नगरपालिका–४ सालमारास्थित पाथिभरा आधारभूत विद्यालय पछिल्ला केही वर्षयता शैक्षिक गुणस्तर सुधारका कारण स्थानीय अभिभावकमाझ आकर्षणको केन्द्र बन्दै गएको छ। विद्यालयको सिकाइ उपलब्धि र शैक्षिक वातावरणमा उल्लेखनीय सुधार आएपछि विद्यार्थी सङ्ख्या निरन्तर बढिरहेको छ। तर विद्यालयमा विद्यार्थी ओसारपसारका लागि पर्याप्त यातायात सुविधा नहुँदा यसको थप विस्तारमा चुनौती देखिएको छ। 


हाल विद्यालयमा अध्ययनरत धेरै विद्यार्थी दैनिक दुई किलोमिटरसम्म पैदल हिँडेर विद्यालय पुग्ने गरेका छन्। विद्यालय प्रशासनका अनुसार टाढाटाढाबाट आउने विद्यार्थीको सङ्ख्या उल्लेख्य रहे पनि यातायातको साधन अभावका कारण थप विद्यार्थी भर्ना गर्न कठिन भइरहेको छ। विद्यालयका प्रधानाध्यापक दिलिप ताजपुरियाले जिम्मेवारी सम्हालेपछि विद्यालयप्रति अभिभावकको विश्वास बढेको स्थानीयको भनाइ छ। शैक्षिक गुणस्तर सुधारसँगै विद्यालयमा विद्यार्थीको चाप पनि ह्वात्तै बढेको छ।

विज्ञापन

प्रधानाध्यापक ताजपुरियाका अनुसार विद्यालयमा हाल पूर्वप्राथमिक तहमा ६९ जना, कक्षा १ देखि ५ सम्म ९० जना र कक्षा ६ देखि ८ सम्म ६० जना गरी कुल २१९ विद्यार्थी अध्ययनरत छन्। अभिभावकको आकर्षण निरन्तर बढिरहेकाले विद्यार्थी सङ्ख्या अझै वृद्धि हुने सम्भावना रहेको उनको भनाइ छ। विद्यालयले नर्सरी, एलकेजी र युकेजी तहमा निजी प्रकाशनका पाठ्यपुस्तक प्रयोग गरी अध्यापन गराउँदै आएको छ। यसले पनि अभिभावकको रुचि बढाउन सहयोग पुगेको विद्यालय प्रशासनको दाबी छ।

तर विद्यालयसम्म पुग्न सहज यातायातको व्यवस्था नहुँदा धेरै अभिभावकको चाहना पूरा गर्न नसकिएको प्रधानाध्यापक ताजपुरियाले बताए। उनले भने, “यातायातको साधन उपलब्ध भएको भए कम्तीमा थप १०० जना विद्यार्थी विद्यालयमा भर्ना हुन सक्ने अवस्था थियो। अहिले पनि धेरै अभिभावक आफ्ना नानीहरूलाई यहाँ पढाउन चाहन्छन्, तर नियमित आवतजावतको समस्या भएकाले सम्भव भइरहेको छैन।” विद्यालयसँग आफ्नै स्रोतसाधन सीमित भएकाले यातायातको व्यवस्था गर्न नसकिएको उनको भनाइ छ। “हामीसँग पर्याप्त आर्थिक स्रोत भएको भए आफ्ना छोराछोरीलाई पाथिभरा आधारभूत विद्यालयमा पढाउन चाहने अभिभावकको इच्छा अधुरो रहने थिएन,” उनले भने।

हाल विद्यालयले इच्छुक अभिभावकसँग समन्वय गरेर एउटा सिटी भाडामा सञ्चालन गरिरहेको छ। तर एउटै सवारी साधनले सबै विद्यार्थीलाई सेवा दिन नसक्दा समस्या भइरहेको छ। उक्त सिटीले जनता बजार, गाइनधारी, विष्णुचोक, चोट टोली, बोलोचोक र सालमारा क्षेत्रका विद्यार्थीलाई विद्यालयसम्म ल्याउने तथा घर पुर्याउने काम गर्दै आएको छ। एकपटकमा सीमित विद्यार्थी मात्र अट्ने भएकाले सिटीले बिहान र बेलुका दुई-दुई पटक फन्को लगाउनुपर्छ। यसरी दैनिक दुई चरणमा विद्यार्थी ओसारपसार गर्दा करिब दुई घण्टा समय खर्चिने गरेको विद्यालयले जनाएको छ।

हाल उक्त सवारीमार्फत करिब ३५ जना विद्यार्थी विद्यालय आउने–जाने गर्छन्। अभिभावकले दूरीका आधारमा मासिक पाँच सय रुपैयाँसम्म शुल्क तिर्दै आएका छन्। आफ्ना नानीहरूको सुरक्षाका लागि अभिभावकहरू अतिरिक्त खर्च गर्न पनि तयार रहेको देखिन्छ। स्थानीय अभिभावक नरवती ताजपुरियाले विद्यालयमा भरपर्दो यातायात सुविधा भए अभिभावकलाई धेरै सहज हुने बताइन्। “मेरो नानी अहिले साइकल चढेर विद्यालय जान्छ। विद्यालयले आफ्नै यातायातको व्यवस्था गरेको भए म साइकल पठाउनुभन्दा विद्यालयकै साधन प्रयोग गर्न रुचाउँथेँ,” उनले भनिन्।

उनको जस्तै धेरै अभिभावकले विद्यालयमा सिटी सफारी वा अन्य उपयुक्त सवारी साधनको व्यवस्था गरिदिन स्थानीय सरकारसँग माग गरेका छन्। टाढाबाट आउने विद्यार्थीहरू विद्यालयमा पुग्दासम्म थाक्ने, दिउँसो भोकाउने तथा खाजा पुर्याउन अभिभावकलाई पटक–पटक समय निकाल्नुपर्ने समस्या रहेको उनीहरूको गुनासो छ। स्थानीय अभिभावकका अनुसार शिवसताक्षी नगरपालिकाका अन्य वडाहरूले भने विद्यालयका लागि सिटी सफारी उपलब्ध गराउने अभ्यास थालेका छन्।

वडा नम्बर ७, ८, ९ र ११ ले वार्षिक नीति तथा कार्यक्रममै समावेश गरी केही विद्यालयलाई विद्यार्थी ओसारपसारका लागि सिटी सफारी उपलब्ध गराएका छन्। वडा नम्बर ६ स्थित सामाजिक आधारभूत विद्यालयका अभिभावकले समेत चन्दा सङ्कलन गरेर सिटी सफारी खरिद गरेका छन्।

शिवसताक्षी–११ स्थित मैनाचरी आधारभूत विद्यालयका प्रधानाध्यापक रामकुमार मण्डलका अनुसार विद्यालयमा यातायात सुविधा भएपछि विद्यार्थी सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ। “हाम्रो विद्यालयमा विद्यार्थी सङ्ख्या वर्षेनी घटिरहेको थियो। विद्यालय व्यवस्थापन समितिको सक्रियता र स्थानीय वडाको सहयोगमा सिटी सफारी खरिद गरियो। त्यसपछि विद्यार्थीको आकर्षण बढ्यो र अहिले कक्षाकोठा भरिभराउ छन्,” उनले भने।

शैक्षिक गुणस्तर सुधारसँगै विद्यार्थी आकर्षित गर्न यातायात सुविधा पनि महत्वपूर्ण आधार बन्दै गएको उदाहरण पाथिभरा आधारभूत विद्यालयले प्रस्तुत गरेको छ। विद्यालयप्रति अभिभावकको बढ्दो विश्वासलाई थप मजबुत बनाउन स्थानीय सरकारले विद्यार्थी ओसारपसारका लागि सवारी साधन उपलब्ध गराए विद्यालयले अझ ठूलो शैक्षिक फड्को मार्न सक्ने अपेक्षा गरिएको छ। अहिलेको अवस्थामा भने गुणस्तरीय शिक्षा दिन सफल भए पनि यातायात अभाव विद्यालयको प्रमुख चुनौतीका रूपमा देखिएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन

लोकप्रिय

लोकप्रिय