|
9,000 SHARES |
झापा । दुधेमा आयोजित भेट्रान फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आयोजक दुधे भेट्रानले दमक लखनपुर भेट्रानलाई २–१ गोल अन्तरले पराजित गर्दै शानदार रुपमा फाइनल यात्रा तय गरेको छ।
सुरुदेखि नै रोमाञ्चक बनेको खेलमा दुधेले पहिलो हाफमा बनाएको अग्रता नै जितको आधार बन्यो। घरेलु समर्थकको उत्साहबीच आक्रामक खेल प्रस्तुत गरेको दुधेले दमकमाथि लगातार दबाब सिर्जना गरेको थियो।
खेलको २१औं मिनेटमा मोहन तामाङले उत्कृष्ट गोल गर्दै दुधेलाई अग्रता दिलाए। त्यसको तीन मिनेटपछि २४औं मिनेटमा सन्तोष लिम्बूले अर्को गोल थपेपछि आयोजक टोली बलियो अवस्थामा पुगेको थियो। पहिलो हाफमा दमक लखनपुरको टिमवर्क प्रभावकारी बन्न नसक्दा दुधेले त्यसको पूरा फाइदा उठाएको थियो।
तर दोस्रो हाफ सुरु भएपछि खेलको चित्र बदलियो। नयाँ रणनीतिसहित मैदान उत्रिएको दमक लखनपुरले लगातार आक्रमण गर्दै दुधेमाथि दबाब बढाएको थियो। खेलको ४०औं मिनेटमा बिकास राईले आकर्षक गोल गर्दै दमकलाई खेलमा फर्काउने संकेत दिएका थिए। त्यसपछि बराबरी गोलका लागि दमकले लगातार अवसर सिर्जना गरेपनि दुधेको रक्षापंक्ति मजबुत बनेर उभियो।
अन्तिमसम्म आफ्नो अग्रता जोगाउन सफल दुधे भेट्रानले फाइनलमा स्थान सुरक्षित गर्यो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका दुधेका सन्तोष लिम्बू “म्यान अफ दि म्याच” घोषित भए।
अब प्रतियोगिताको उपाधिका लागि शनिबार हुने फाइनलमा दुधे भेट्रानले झिलझिले भेट्रानसँग प्रतिस्पर्धा गर्नेछ। दुवै टोली उत्कृष्ट लयमा रहेकाले फाइनल खेल थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
फाइनलअघि झापा जिल्ला प्रहरीको टोली र दुधे क्लासिकबीच मैत्रीपूर्ण खेल हुने दुधे भेट्रानका अध्यक्ष सन्तोष नेम्वाङले जानकारी दिए।
प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार रुपैयाँ तथा उपविजेताले ८१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।










