|
9,000 SHARES |
शिवसताक्षी । शिवसताक्षी–११ स्थित दुधे रंगशालामा जारी चौथो स्वर्गीय कर्णबहादुर नेम्वाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता २०८३ अन्तर्गत दोस्रो दिनको खेलमा बिर्तामोड भेट्रान ले पथरी शनिश्चरे भेट्रान लाई ट्राइब्रेकरमा पराजित गर्दै अर्को चरणमा स्थान सुरक्षित गरेको छ।
निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो। अत्यन्त प्रतिस्पर्धात्मक बनेको खेलमा बिर्तामोड भेट्रान भाग्यमानी सावित भयो।
ट्राइब्रेकरमा बिर्तामोडका गोलकिपर मीन बस्नेत नायक बने। उनले विपक्षी टोलीका दुई महत्वपूर्ण प्रहार बचाउँदै टोलीलाई जित दिलाए। उत्कृष्ट प्रदर्शनका लागि बस्नेत ‘म्यान अफ दि म्याच’ घोषित भए।

यस्तै दोस्रो खेल दुधे भेट्रान रातो र कनकाई भेट्रान बीच भइरहेको थियो। खेल रोमाञ्चक बन्दै गइरहेका बेला अचानक परेको वर्षाका कारण खेल अवरुद्ध भएको आयोजकले जनाएको छ। उक्त खेल पुनः कहिले सञ्चालन गर्ने भन्नेबारे पछि जानकारी गराइने बताइएको छ।
प्रतियोगितामा विभिन्न स्थानका भेट्रान टोलीहरूको सहभागिता रहेको छ भने खेलप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थितिले दुधे रंगशाला थप उत्साहित बनेको छ।
आयोजकका अनुसार प्रतियोगिताको विजेताले नगद रु. १ लाख ५१ हजार तथा उपविजेताले रु. ८१ हजार पुरस्कार प्राप्त गर्नेछन्।










