|
9,000 SHARES |
काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्तीमा संरचना हटाउन डोजर चलाइएको छ। केहीबेरअघि मात्रै महानगरको टोलीले डोजर प्रयोग गरी बस्ती हटाउने काम सुरु गरेको हो।
डोजर चलाउनुअघि बस्ती खाली गराउन केही समय थप गरिएको थियो। स्थानीयवासीलाई आफ्ना सामान सुरक्षित रूपमा सार्न समय दिइएको थियो भने प्रहरीले पनि सामान सार्न सहयोग गरेको थियो।
सुरुमा दुईवटा डोजर प्रयोग गरिएको छ। बस्तीभित्र रहेका मानिसलाई बाहिर निकाल्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले समन्वय गरिरहेका छन्।
थापाथली क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। अहिले बाक्लो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी तैनाथ छन्। काठमाडौं महानगर प्रहरी बलका अनुसार थापाथलीमा डोजर चलाएर काम सम्पन्न भएपछि आजै गैरीगाउँस्थित सुकुम्बासी बस्ती पनि हटाइनेछ।
प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले सुकुम्बासी बस्ती हटाउने क्रममा ‘साइट’मै व्यवस्थापन र राहत उपलब्ध गराइने जनाएको छ। शनिबार बिहानदेखि खटिएको टोलीले बस्ती हटाउने कार्यसँगै तत्काल खानाको व्यवस्था गर्ने उल्लेख गरिएको छ।
स्थानान्तरण हुने परिवारका लागि शनिबार र आइतबार सरकारले नै प्याकेटमा खानाको प्रबन्ध गर्ने जनाइएको छ। पुनःस्थापनाका लागि छनोट गरिएका स्थानहरूमा पानी, बिजुली र शौचालयको सुविधा सुनिश्चित गर्न सरसफाइ कार्य पूरा भइसकेको सचिवालयले जनाएको छ।
सुकुम्बासीलाई राख्न चयन गरिएका संरचनाहरू यसअघि नै निर्माण गरिएका हुन्, जसलाई अहिले वास्तविक सुकुम्बासी व्यवस्थापनका लागि पूर्ण रूपमा प्रयोगमा ल्याइने तयारी गरिएको छ।










