|
9,000 SHARES |
अर्जुनधारा । यू–१३ इन्डो–नेपाल टी–२० च्याम्पियन्स ट्रफीको फाइनल खेल आज मध्यान्ह १२ बजे अर्जुनधारा–९ स्थित नमुना खेल मैदानमा हुँदैछ। उपाधिका लागि बोस्टन क्रिकेट एकेडेमी र सरस्वती क्रिकेट एकेडेमी आमनेसामने हुनेछन्।
हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा कोलकाताको क्रिकेट जोन अन्दलालाई २ विकेटले पराजित गर्दै सरस्वती क्रिकेट एकेडेमीले फाइनलमा स्थान पक्का गरेको हो।
यसअघि हिजै भएको पहिलो सेमिफाइनलबाट अर्जुनधाराको बोस्टन क्रिकेट एकेडेमी फाइनलमा प्रवेश गरेको थियो।
१३ वर्षमुनिका खेलाडीहरूबीच हुने आजको फाइनल खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा आयोजकले गरेको छ।
अर्जुनधारा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा बोस्टन क्रिकेट एकेडेमीको सह–आयोजनामा भइरहेको प्रतियोगितामा भारतका २ र नेपालका ८ गरी १० टोलीको सहभागिता रहेको थियो।

प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
आयोजकले फाइनल खेल प्रत्यक्ष अवलोकनका लागि दर्शकलाई मैदानमा उपस्थित हुन अनुरोध गरेको छ।










