|
9,000 SHARES |
काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल ले नेपाललाई सस्तो गन्तव्यको रूपमा होइन, उच्च मूल्य, गहिरो अनुभव र दिगो विकासमा आधारित आरोग्य पर्यटन गन्तव्यका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ।
काठमाडौं मा बुधबार ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नेपाललाई ‘बजेट गन्तव्य’ को ट्यागबाट मुक्त गरी ‘प्रिमियम आरोग्य गन्तव्य’ को रूपमा विकास गर्नुपर्ने बताउनुभयो। केवल पर्यटकको संख्या बढाएर मात्र आर्थिक समृद्धि सम्भव नहुने भन्दै उहाँले पर्यटकले पाउने अनुभवको गुणस्तर र त्यसबाट हुने आम्दानी महत्वपूर्ण हुने धारणा राख्नुभयो।
सभामुख अर्यालका अनुसार आरोग्य पर्यटकहरू सामान्य पर्यटकभन्दा बढी खर्च गर्ने र लामो समय बस्ने भएकाले यस क्षेत्रले अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सक्छ। उनीहरू विलासिताभन्दा आत्मिक शान्ति र जीवनको अर्थ खोज्दै यात्रा गर्ने भएकाले नेपालका हिमालय क्षेत्र, पवित्र नदीहरू र प्राचीन योग परम्पराहरू विश्वकै लागि अद्वितीय आकर्षण बन्न सक्ने उहाँको भनाइ थियो।
उहाँले विश्वभर आरोग्य पर्यटन तीव्र रूपमा विस्तार भइरहेको उल्लेख गर्दै यो खर्बौं डलरको अर्थतन्त्रमा परिणत भइसकेको बताउनुभयो। नेपालका बडिमालिका, खप्तड, रारा ताल, लुम्बिनी, मनाङ र मुस्ताङ जस्ता क्षेत्रहरू आत्मिक अनुभूति खोज्ने पर्यटकका लागि महत्वपूर्ण गन्तव्य बन्न सक्ने उहाँले औंल्याउनुभयो।
प्रकृति, संस्कृति र आध्यात्मिकतालाई एकीकृत गर्दै नयाँ पर्यटन मोडेल विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले स्पष्ट नीति, राष्ट्रिय आरोग्य मोडेल र स्थानीय समुदायको साझेदारी अपरिहार्य रहेको बताउनुभयो।
सभामुख अर्यालले संयुक्त राष्ट्र संघ को महासभाबाट वैशाख २९ (अप्रिल १५) लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा मान्यता मिल्नु नेपालका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्नुभयो। उहाँले यो दिवसले मानव जीवनलाई सन्तुलित बनाउने, प्रकृतिसँग पुनः जोड्ने र आत्मिक शान्तितर्फ फर्कने सन्देश दिने विश्वास व्यक्त गर्नुभयो।
नेपालको सभ्यता, संस्कृति र परम्परा आफैंमा आरोग्यका उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै उहाँले हजारौँ वर्षदेखि योग, ध्यान, आयुर्वेद र प्रकृतिसँगको सह–अस्तित्वलाई नेपाली जीवनशैलीको आधार मानिँदै आएको बताउनुभयो।










