|
9,000 SHARES |
झापा । देशमा हाल कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। यसका कारण देशका विभिन्न भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ।
महाशाखाका अनुसार अहिले पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो हिमाली भेगमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईका अधिकांश स्थानमा मौसम सफा रहने अनुमान गरिएको छ।
विशेषगरी कोशी प्रदेश का पहाडी तथा हिमाली क्षेत्र र बागमती प्रदेश तथा गण्डकी प्रदेश का हिमाली भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी, आज राति हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाइएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थानमा भने राति पनि मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।
वर्षा तथा हिमपात हुने सम्भावना रहेका स्थानका सर्वसाधारण तथा यातायात सञ्चालनकर्तालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।










