बिर्तामोडमा कोशी–बंगाल पर्यटन उत्सव हुँदै, सीमापार सहकार्यलाई नयाँ आयाम दिने अपेक्षा



9,000 SHARES

बिर्तामोड । झापाको बिर्तामोडमा आयोजना हुन लागेको कोशी–बंगाल सांस्कृतिक तथा पर्यटन उत्सव २०८२ केवल सांस्कृतिक कार्यक्रम मात्र नभई नेपाल–भारतबीच सीमापार पर्यटन सहकार्य विस्तार गर्ने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ। ‘सीमापार संस्कृति, सम्पदा र पर्यटनको उत्सव’ भन्ने मूल नारासहित चैत २४ र २५ गते सञ्चालन हुने यस कार्यक्रमले पूर्वी नेपाल र पश्चिम बंगालबीचको सम्बन्धलाई थप सुदृढ गर्ने लक्ष्य राखेको छ।

पर्यटन कार्यालय काँकडभिट्टाको प्रवर्द्धनमा आयोजना हुन लागेको यस उत्सवले दुई देशबीचको सांस्कृतिक निकटतालाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। आयोजक समितिकी संयोजक इन्दिरा श्रेष्ठका अनुसार निजी क्षेत्रको सक्रियता बढाउँदै कोशी प्रदेशलाई अन्तर्राष्ट्रिय पर्यटन नक्सामा स्थापित गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको हो।

विज्ञापन

उत्सवमा नेपालका १८ र बंगालका १२ गरी ३० वटा स्टल रहनेछन्। ती स्टलहरूमा स्थानीय खानाका परिकार, हस्तकला सामग्री, पर्यटन प्याकेज तथा सेवा प्रस्तुत गरिनेछ। साथै टुर तथा ट्राभल व्यवसायी, होटल तथा होमस्टे सञ्चालकहरूको सक्रिय सहभागिताले पर्यटन बजारलाई चलायमान बनाउने विश्वास गरिएको छ। सांस्कृतिक नृत्य, फोटो तथा चित्रकला प्रदर्शनीजस्ता गतिविधिले कार्यक्रमलाई थप आकर्षक बनाउने पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छवि खतिवडाले बताएका छन्।

विज्ञापन

यस उत्सवले झापा, इलाम, पाँचथर लगायत पूर्वी क्षेत्र र पश्चिम बंगालबीच पर्यटन आवागमन वृद्धि गर्ने अपेक्षा गरिएको छ। विशेषगरी काँकडभिट्टा–सिलिगुडी नाका हुँदै सहज आवतजावत हुने भएकाले छोटो अवधिमै सकारात्मक प्रभाव देखिने विज्ञहरूको भनाइ छ। यसबाट सीमावर्ती क्षेत्रमा पर्यटक आगमन बढ्ने, होटल, यातायात, गाइड तथा होमस्टे क्षेत्रमा आर्थिक गतिविधि विस्तार हुने, सांस्कृतिक सम्बन्ध थप प्रगाढ बन्ने, दीर्घकालमा “नेपाल–बंगाल पर्यटन सर्किट” विकासको सम्भावना बढ्ने उनीहरूले बताएका छन्र ।

कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत करिब १० लाख रुपैयाँ लागत अनुमान गरिएको यस कार्यक्रमलाई तुलनात्मक रूपमा कम लगानीमा उच्च प्रभाव दिने पहलका रूपमा लिइएको छ। यदि कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भयो भने निजी क्षेत्रको लगानी आकर्षित हुने, स्थानीय उत्पादनको बजार विस्तार हुने, पर्यटन ब्रान्डिङमा दीर्घकालीन लाभ पुग्ने लगायतका संभावना देखिन्छ । तर, कार्यक्रमलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन निरन्तरता, प्रचार–प्रसार, पूर्वाधार विकास र नीतिगत समर्थन आवश्यक रहने पर्यटन पत्रकार मञ्च झापाका अध्यक्ष बिनोद पाण्डेको सुझाव छ। उनले एकपटकको आयोजनाले मात्र लक्ष्य हासिल नहुने भन्दै यसलाई नियमित रूपमा सञ्चालन गर्नुपर्ने बताएका छन्।

कोशी–बंगाल सांस्कृतिक तथा पर्यटन उत्सव २०८२ ले सीमापार सम्बन्ध सुदृढ गर्दै पूर्वी नेपालको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने सम्भावना बोकेको छ। दीर्घकालीन रणनीति र निरन्तरतासहित अघि बढाइएमा यो कार्यक्रम भविष्यमा नेपाल–भारत सहकार्यको सफल पर्यटन मोडेल बन्न सक्ने देखिन्छ।

उक्त विषयमा बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजित पत्रकार भेटघाटमा पर्यटन अभियन्ता अर्जुन कार्की, महिला उद्यमी सुश्मा पौडेल, नाट्टा कोशी प्रदेश महासचिव नविन खरेल, पर्यटन पत्रकार मञ्च झापा अध्यक्ष बिनोद पाण्डे, पर्यटन कार्यालयका अधिकृत निरोज कट्टेललगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण होमस्टे महासंघ नेपालका महासचिव मन्जिल देवानले गरेका थिए।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय