|
9,000 SHARES |
बिर्तामोड । झापाका नवनिर्वाचित सांसदहरूले जेनजी आन्दोलनका दुई शहिद परिवारको घरमै पुगेर समवेदना प्रकट गर्दै पहिलो आशीर्वाद लिएका छन्।
झापा क्षेत्र नम्बर १, २, ३ र ४ बाट निर्वाचित सांसदहरू निशा डाँगी, इन्दिरा राना मगर, प्रकाश पाठक र सम्भु ढकाल सुस्केराले अर्जुनधारा नगरपालिका–११ का जेनजी आन्दोलनका शहिद गोपाल सेढाई र अर्जुनधारा नगरपालिका–८ का दिनेश राजवंशीको परिवारसँग भेटघाट गरेका हुन्।
भेटका क्रममा सांसद निशा डाँगीले गोपाल सेढाईको घरमा पुगेर जेनजी आन्दोलनकै कारण आफूहरू निर्वाचित भएको उल्लेख गर्दै शहिदको रगत खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आन्दोलनका दोषीलाई कारबाही गरिछाड्ने र शहिदको बलिदानले न्याय, परिवर्तन र जनताको आवाजलाई अझ मजबुत बनाएको बताउनुभयो।
त्यस्तै झापा–४ का सांसद सम्भु ढकाल सुस्केराले अहिलेको सरकार विगतजस्तो दलहरूबीच सरकार बनाउन हुने लुछाचुडीको अवस्थामा नरहेको बताउनुभयो। उहाँले शहिद परिवार तथा जनताले आफूहरूलाई निरन्तर खबरदारी गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
यसैबीच अर्जुनधारा–११ निवासी शहिद गोपाल सेढाईकी आमा पूर्णमाया सेढाईले छोरा आन्दोलनमा मारिँदा संसार नै सकिएको जस्तो लागेको तर निर्वाचन जितेको केही घण्टाभित्रै सांसदहरू घरमै आएर दुःख–सुख सोध्दा आफ्नै छोराछोरी जस्तै अनुभूति भएको बताउनुभयो।

गोपालका पिता धनपति सेढाईले जेनजी आन्दोलनको मूल मर्मअनुसार सरकार सञ्चालन गर्न र आन्दोलनका दोषीमाथि कारबाही गर्न आग्रह गर्नुभयो।
उता झापा–३ का नवनिर्वाचित सांसद प्रकाश पाठकले शहिदको बलिदान व्यर्थ जान नदिने प्रतिबद्धता जनाउँदै जेनजी आन्दोलनको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याइने बताउनुभयो।
यसैबीच झापाबाट निर्वाचित सांसदहरूले जेनजी शहिदहरूको स्मृतिमा पूर्वको पशुपतिनाथका रूपमा चिनिने अर्जुनधारा जलेश्वर धाममा ७६ वटा दीप प्रज्वलन गरेका छन्।










