|
9,000 SHARES |
काठमाडौं । शनिबारदेखि सुरु भएको टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा दुईपटकको विश्व च्याम्पियन इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।
मुम्बईको वानखडे रंगशालामा हुने खेल दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ। टेस्ट राष्ट्र इङ्ल्यान्डविरुद्ध ऐतिहासिक जितको लक्ष्यसहित नेपाल मैदानमा उत्रनेछ। यो नेपाल र इङ्ल्यान्डबीचको पहिलो अन्तर्राष्ट्रिय भेट हो।
प्रि–म्याच पत्रकार सम्मेलनमा इङ्ल्यान्डका कप्तान ह्यारी ब्रुकले नेपाललाई कमजोर टोलीका रूपमा नलिएको बताएका छन्। घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभवले भरिएको इङ्ल्यान्ड टोलीसँग सबै विभागमा उत्कृष्ट खेलाडी छन्।
मुम्बईको आद्र मौसम र वानखडे रंगशालाको कन्डिसन फास्ट बलरमैत्री मानिन्छ। धेरै स्विङ हुने यो मैदानमा नेपालका सोमपाल कामी र करण केसी प्रमुख हतियार हुने अपेक्षा गरिएको छ। यस्तै, नन्दन यादवको प्रदर्शन पनि खेलको निर्णायक पक्ष बन्न सक्नेछ।
झण्डै ७० मिटरको छोटो बाउन्ड्रीका कारण उच्च स्कोरको खेल हुने अनुमान छ। ब्याटिङतर्फ विश्व वरियताको दोस्रो स्थानमा रहेका फिल साल्ट र तेस्रो स्थानका जस बटलर नेपालका लागि ठूलो चुनौती हुन्।
नेपालको ब्याटिङ प्रदर्शन भने ओपनर आशिफ शेख र कुशल भुर्तेलसँगै सन्दीप जोरा र लोकेश बमले कति आक्रामक खेल देखाउन सक्छन् भन्नेमा निर्भर रहनेछ। कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीबाट जिम्मेवारीपूर्ण अलराउन्ड प्रदर्शनको अपेक्षा गरिएको छ भने गुल्सन झाले क्यामियो भूमिकामा प्रभाव जमाउन सक्ने विश्वास छ।
इङ्ल्यान्डले गत जनवरीमा सम्पन्न एसेज सिरिजमा हार बेहोरेको थियो। त्यसअघि न्युजिल्यान्डविरुद्ध पनि अपेक्षित नतिजा निकाल्न नसके पनि श्रीलंकाविरुद्धका दुई सिरिजमा सानदार जित निकाल्दै टोली उच्च मनोबलका साथ विश्वकपमा आएको हो।
नौ पटक विश्वकप खेलेको इङ्ल्यान्डले सन् २०१० र २०२२ मा उपाधि जितिसकेको छ। हरेक संस्करणमा प्रायः शीर्ष ८ भित्र रहँदै आएको इङ्ल्यान्डसँगको प्रतिस्पर्धा नेपालका लागि कठिन भए पनि ऐतिहासिक अवसरको रूपमा हेरिएको छ।










