|
9,000 SHARES |
शिवसताक्षी । “स्वास्थ्य सबका लागि, कांग्रेस तपाईँको साथमा” भन्ने मूल नाराका साथ झापाको शिवसताक्षी नगरपालिका–६ स्थित जनआदर्श माध्यमिक विद्यालय परिसरमा आयोजित निःशुल्क स्वास्थ्य शिविर साेमबार सफलतापूर्वक सम्पन्न भएको छ। नेपाली कांग्रेस नगर कार्यसमिति शिवसताक्षीको आयोजनामा गरिएको उक्त शिविरबाट १ हजार ४ सयभन्दा बढी स्थानीयवासीले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
शिविरमा जेनेरल फिजिसियन, मुटु रोग, हाड–जोर्नी तथा नसा, ईएनटी (नाक–कान–घाँटी), छाला रोग, मानसिक स्वास्थ्य, बालरोग, दन्त, आँखा, जेनेरल सर्जरी, प्रसूति तथा स्त्रीरोगलगायतका सेवा प्रदान गरिएका थिए। साथै भिडियो एक्स–रे, इसिजी, इको तथा विभिन्न ल्याब परीक्षणजस्ता प्राविधिक सेवासमेत उपलब्ध गराइएको थियो। सबै बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको आयोजकले जनाएको छ।
नेपाली कांग्रेस शिवसताक्षीका नगर सभापति अशोक बस्नेतका अनुसार विशेषगरी इको, इसिजी र भिडियो एक्स–रे सेवामा भीड देखिएको थियो। उहाँले स्थानीयस्तरमै धेरै प्रकारका स्वास्थ्य सेवा सहज र पहुँचयोग्य ढंगले उपलब्ध गराएपछि शिविर अत्यन्त प्रभावकारी भएको बताउनुभयो।
शिविरमा नोबेल मेडिकल कलेज, विराटनगरका १८ जना डाक्टर तथा प्राविधिकको टोलीले सेवा प्रदान गरेको थियो। नेपाली कांग्रेस शिवसताक्षीले राजनीतिक गतिविधिसँगै सामाजिक सेवा र मानवीय कार्यलाई प्राथमिकतामा राखेको जिकिर गर्दै हालै जिएनजी आन्दोलनपछि केही सुस्तिएको संगठन पुनः रचनात्मक कार्यक्रममार्फत सक्रिय बन्दै गएको धारणा राखिएको छ।
शिविरको उद्घाटन नेपाली कांग्रेसका महासमिति सदस्य भक्तिप्रसाद सिटौलाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नगर सचिव होम दुलालले गर्नुभएको थियो।










