|
9,000 SHARES |
काठमाडौं । यस वर्षको अविरल वर्षाका कारण देशभर कृषि क्षेत्रमा व्यापक क्षति पुगेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार वर्षाका कारण धानको उत्पादनमा करिब पाँच प्रतिशतले कमी आउने प्रक्षेपण गरिएको छ।
मन्त्रालयले संकलन गरेको तथ्याङ्क अनुसार कृषि तथा पशुपन्छी क्षेत्रमा करिब तीन अर्ब ५५ करोड बराबरको क्षति भएको छ। यसका आधारमा धान उत्पादन घट्ने अनुमान गरिएको हो।
गत वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष करिब तीन लाख मेट्रिक टन कम उत्पादन हुने आकलन गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो।
उहाँका अनुसार जलवायु परिवर्तनका असरहरू (बाढी, अविरल वर्षा, भू–क्षय लगायतका विपद्) ले सबैभन्दा बढी असर कृषि क्षेत्रमा पारेका छन्। विगत चार–पाँच वर्षदेखि धान उत्पादनमा वृद्धि हुँदै आएको भए पनि यसपटक लक्ष्यअनुसारको ६० लाख मेट्रिक टन उत्पादन गर्न कठिनाइ हुने देखिएको छ।
वर्षाले धान पाक्ने समयमा किसानले समयमै बाली काट्न नपाएको र काटेको धान उठाउन नपाएकाले ठूलो क्षति पुगेको हो। खेतमै काटेर राखिएको धान पानीले भिजेर कुहिनु, र बाली ढल्नुका कारण उत्पादनमा गिरावट आएको मन्त्रालयले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले सम्भावित वर्षाको जानकारी पहिल्यै दिएको कारण मन्त्रालयले किसानलाई समयमै सूचना प्रसारण गरेको थियो। मौसम पूर्ण रूपमा सफा भएपछि मात्र धान काट्न सुझाव दिइएकाले क्षति न्यूनीकरणमा केही सहयोग पुगेको जोशीले बताउनुभयो।
मन्त्रालयले किसानलाई मल, बीउबिजन, प्रविधि र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको पनि जानकारी दिएको छ।










