अभियान नेपालको २५औँ साधारण सभा सम्पन्न, ६२ लाखभन्दा बढी नाफा



1,293 SHARES

खुदुनाबारी । अर्जुनधारा–३, खुदुनाबारीमा रहेको अभियान नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा ६२ लाख ५६ हजार ४७१ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। संस्थाको २५औँ वार्षिक साधारण सभामा प्रस्तुत वार्षिक प्रतिवेदनले सहकारीको कारोबार, पुँजी तथा सदस्य संख्यामा समेत वृद्धि भएको देखाएको छ।

जनता माविको सभाहलमा संविधानसभा सदस्य तथा संस्थाका संस्थापक प्रेम गिरीको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो। सभामा संस्थाका अध्यक्ष दिव्यप्रसाद कट्टेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा संस्थाको खुद नाफा ७ लाख २ हजार ९८५ रुपैयाँले वृद्धि भएर ६२ लाख ५६ हजार भएको जानकारी दिनुभयो।

विज्ञापन

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा संस्थाको वार्षिक कारोबार २ करोड ३४ लाख ६५ हजार ७५३ रुपैयाँ रहेको छ। संस्थाको वासलात २० करोड १८ लाख ९९ हजार ५०४ रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा २ करोड ७० लाख १६ हजार ४९३ रुपैयाँले बढी हो।

विज्ञापन

समीक्षा अवधिमा संस्थाको सेयर पुँजी १ करोड ८६ लाख २८ हजार ५०० रुपैयाँ पुगेको छ। एक वर्षमा ४६ जना सेयर सदस्य थपिएसँगै संस्थामा कुल सदस्य संख्या १ हजार २० पुगेको छ। संस्थाको लगानी रकम भने १६ करोड १७ लाख ३२ हजार ७८२ रुपैयाँ रहेको अध्यक्ष कट्टेलले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ।

साधारण सभामा व्यवस्थापक टेकबहादुर राईले आर्थिक वर्ष २०८२/८३ को तुलनात्मक प्रस्तावित बजेटसहित चालु आर्थिक वर्ष २०८३/८४ को अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो। लेखा सुपरिवेक्षण समितिका संयोजक धनबहादुर तामाङले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

अभियान नेपाल सहकारीमा ५० वटा महिला वित्तीय समूह सक्रिय रहेका छन्। सदस्य उपचारमा सहकार्य, सदस्य तथा परिवार राहत कार्यक्रम, पशुपालन कर्जा, ‘भिजन ३५–मिसन २०३५’, सामाजिक सुरक्षा कोष, सदस्य बीमालगायतका कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले जनाएको छ।

साधारण सभाको अवसरमा संस्थाले उत्कृष्ट सेयर सदस्यका रूपमा चार जनालाई सम्मान गरेको छ। सेयर लाभांशतर्फ उर्मिला श्रेष्ठ, संरक्षक पुँजीतर्फ बिनाकुमारी गजमेर र राजाराम गुप्ता तथा साना उद्यमीतर्फ ईश्वरीदेवी भण्डारीलाई सम्मानपत्र, नगद तथा दोसल्लासहित सम्मान गरिएको हो।

कार्यक्रममा अर्जुनधारा–२ की वडा सदस्य शर्मिला सुब्बा, साना किसान सहकारी संस्था खुदुनाबारीका अध्यक्ष कृष्ण दङ्गाल, संस्थाका पूर्वअध्यक्ष लोकमान श्रेष्ठ र प्रमुख अतिथि प्रेम गिरीले धारणा राख्नुभएको थियो।

साधारण सभामा सेयर सदस्यहरूले संस्थाको वर्तमान अवस्था, आर्थिक गतिविधि तथा भावी योजनाका विषयमा विभिन्न जिज्ञासा राखेका थिए। सदस्यका जिज्ञासामाथि अध्यक्ष दिव्यप्रसाद कट्टेल, सञ्चालक समिति सदस्य ददिराम आचार्य र व्यवस्थापक टेकबहादुर राईले जवाफ दिनुभएको थियो।

साधारण सभाको सञ्चालन सञ्चालक समिति सदस्य तथा तालिम शिक्षा उपसमिति संयोजक हिमादेवी मगरले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
1
+1
0
+1
0

Authors

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय