खुदुनाबारीमा आमा स्मृति यू–१७ वडास्तरीय नकआउट फुटबल हुने



840 SHARES

खुदुनाबारी । झापाको अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीमा आगामी असोज २३ गतेदेखि ३० गतेसम्म ‘आमा स्मृति यू–१७ वडास्तरीय नकआउट फुटबल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ।

स्थानीयस्तरबाटै फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले अर्जुनधारा–३ कैदलेस्थित प्रस्तावित प्राकृतिक रंगशालामा प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगितामा अर्जुनधारा नगरपालिकाका ११ वटै वडाका टोलीको सहभागिता रहने आयोजकले जनाएको छ।

विज्ञापन

आइतबार आयोजित पत्रकार भेटघाटमा खुदुनाबारी परोपकार केन्द्रका अध्यक्ष तथा प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष लीलाबल्लभ खतिवडाले प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार ५५१ रुपैयाँसहित ट्रफी र उपविजेता टोलीले नगद ३० हजार ३३३ रुपैयाँसहित ट्रफी प्राप्त गर्ने जानकारी दिए।

विज्ञापन

उनका अनुसार विजेताको पुरस्कारको नगद राशि मुख्य प्रायोजक झापाली समाज कतारले र उपविजेताको पुरस्कारको नगद राशि अर्जुनधारा–३ स्थित भानु आधारभूत विद्यालयका शिक्षक पदम कन्दङवाले आफ्ना आमाबुबा भद्रमाया र हरिप्रसाद कन्दङवाको स्मृतिमा सौजन्य गरेका हुन्।

प्रतियोगिताको शीर्षक पुरस्कारस्वरूप नगद एक लाख रुपैयाँ संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका बाबी सुब्बाले आफ्नी आमा आइतमाया सुहाङ लिम्बूनी ठूलीको स्मृतिमा सौजन्य गरेका छन्।

प्रतियोगितामा उत्कृष्ट खेलाडीले नगद तीन हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उदीयमान खेलाडीलाई जनही दुई हजार ५०० रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ। प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई नगद एक हजार ५०० रुपैयाँ प्रदान गरिनेछ।

प्रतियोगितालाई अर्जुनधारा नगरपालिका–३ नम्बर वडा कार्यालय र अर्जुनधारा नगर खेलकुद विकास समितिको सहयोग रहेको छ। आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न अनुमानित पाँच लाख १६ हजार ४८४ रुपैयाँ खर्च लाग्नेछ। प्रतियोगिता व्यवस्थापनका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको छ।

पत्रकार भेटघाटमा अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल, अर्जुनधारा–३ का कार्यवाहक वडाध्यक्ष नारायणप्रसाद चापागाईं, प्रतियोगिताका दाता पदम कन्दङवा, अर्जुनधारा–५ वडा खेलकुद समितिका अध्यक्ष बाबा डिआर थारुलगायतले प्रतियोगिताको उद्देश्य र तयारीबारे मन्तव्य राखेका थिए।

कार्यक्रमको सञ्चालन खुदुनाबारी परोपकार केन्द्रका उपाध्यक्ष कपिलमणि नेपालले गरेका थिए।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय