|
1,043 SHARES |
बिर्तामोड । झापामा आजदेखि जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोविरुद्ध खोप अभियान सञ्चालन हुँदैछ। असोज ५ देखि १५ गतेसम्म चल्ने अभियानमा जिल्लाका १५ वटै स्थानीय तहका ३० वर्षमाथिका चार लाख ८५ हजार ५५ जना नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ।
स्वास्थ्य कार्यालय झापाका अनुसार अभियानका लागि पाँच लाख ७० हजार डोज खोप प्राप्त भइसकेको छ। जिल्लाका १३१ वटै वडामा ९०० खोप केन्द्र स्थापना गरिएको छ।
अभियान सफल बनाउन करिब ५०० स्वास्थ्यकर्मी, ६११ महिला स्वास्थ्य स्वयंसेविका र तीन हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिने स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासले जानकारी दिए।
झापामा जेई संक्रमण र मृत्युदर बढ्दै गएपछि उच्च सतर्कताका साथ खोप अभियान सञ्चालन गर्न लागिएको हो। जिल्लामा हालसम्म १३ जनामा जेई संक्रमण पुष्टि भएकामा सात जनाको मृत्यु भइसकेको छ। मृत्यु भएका कसैले पनि जेईविरुद्धको खोप नलगाएको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ।
प्रमुख दासले लक्षित समूहका कोही पनि नागरिक खोपबाट नछुटून् भनेर स्थानीय तह र स्वास्थ्य संस्थासँग समन्वय गरी आवश्यक तयारी पूरा गरिएको बताए। उनले खोप सुरक्षित रहेकाले लक्षित समूहका सबै नागरिकलाई अभियानमा सहभागी भई खोप लगाउन आग्रह गरेका छन्।
स्वास्थ्य कार्यालयका अनुसार गर्भवती, यसअघि खोप लगाउँदा गम्भीर एलर्जी (एनाफिलेक्सिस) भएका तथा खोपका कुनै तत्वबाट गम्भीर एलर्जी भएका व्यक्तिले यो खोप लगाउनु हुँदैन। त्यस्तै, ज्वरो आएको अवस्थामा खोप नलगाई ज्वरो निको भएपछि मात्र खोप लगाउन सकिने जनाइएको छ।
जापानिज इन्सेफलाइटिस क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्ने भाइरसजन्य रोग हो। संक्रमित चराचुरुङ्गी तथा सुँगुरलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा यो रोग सर्ने गर्छ।










