‘बाबाको बाँसुरी’ प्रदर्शनको तयारीमा, रसुवा बाढीपीडितलाई सहयोग गर्ने घोषणा



1,087 SHARES

बिर्तामोड । नेपाली कथानक चलचित्र ‘बाबाको बाँसुरी’ प्रदर्शनको तयारीमा रहेको छ । चलचित्रको निर्माण टिमले बिहीबार झापाको बिर्तामोडमा पत्रकार भेटघाट गर्दै चलचित्रको सम्पूर्ण तयारी पूरा भएको र अब प्रदर्शनको तयारीमा रहेको जानकारी दिएको हो ।

बिर्तामोडस्थित पिज्जा घरमा आयोजित पत्रकार भेटघाटमा चलचित्रका मुख्य अभिनेता तथा निर्माता पूर्ण सुनारले चलचित्र प्रदर्शनका लागि तयारी भइरहेको जानकारी दिए । उनका अनुसार ‘बाबाको बाँसुरी’ एउटा टुहुरोको कथामा आधारित सामाजिक चलचित्र हो ।

विज्ञापन

लघु चलचित्रका रूपमा निर्माण गरिएको ‘बाबाको बाँसुरी’लाई पहिलो चरणमा विभिन्न स्थानमा च्यारिटी शोमार्फत प्रदर्शन गरिने निर्माण टिमले जनाएको छ । निर्माता सुनारका अनुसार झापाको धुलाबारीमा असोज १० गते र बिर्तामोडको पाथिभरा नेपालीमा असोज ११ गते चलचित्र प्रदर्शन गरिनेछ ।

विज्ञापन

निर्माता सुनारले चलचित्र प्रदर्शनबाट प्राप्त आम्दानीमध्येबाट रसुवाका बाढीपीडितलाई सहयोग गर्ने घोषणा गरेका छन् । सामाजिक कथावस्तुमा आधारित चलचित्रले मनोरञ्जनसँगै मानवीय सन्देशसमेत दिने उनको भनाइ छ ।

चलचित्रका निर्देशक तथा लेखक कमल लिम्बू ‘लाहुरे’ले चलचित्रको छायाङ्कन झापाका विभिन्न स्थानसँगै इलामका केही भूभागमा गरिएको जानकारी दिए । लिम्बूको निर्देशनमा बनेको चलचित्रमा पूर्ण सुनार मुख्य अभिनेताका रूपमा छन् भने शीतल खनालले नायिकाको भूमिका निर्वाह गरेकी छन् ।

चलचित्रमा विपिन प्रसाईं, भीम खतिवडा, काजी बराइली, राजा कन्दनमालगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको छायाङ्कन तथा सम्पादन तिलक रिजालले गरेका छन् भने द्वन्द्व निर्देशन सुदीप खवासले गरेका छन् । चलचित्रमा निर्माता सुनारले पार्श्व संगीतसमेत दिएका छन् ।

पत्रकार भेटघाटमा निर्माता, निर्देशक, कलाकारसहित चलचित्रको सम्पूर्ण निर्माण टिमको उपस्थिति रहेको थियो । निर्माण टिमले चलचित्र हेरेर प्रतिक्रिया दिन दर्शकलाई आग्रह गरेको छ ।

यसैबीच, निर्माण टिमले पत्रकार भेटघाटकै अवसरमा चलचित्रको ट्रेलरसमेत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय