सर्लाही । सर्लाहीको कबिलासी नगरपालिका–७ सिर्सियामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मंगलबार राति मंलवा–नवलपुर सडकखण्डमा मधेस प्रदेश ०३–०३३ प ७८२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको भारतीय बीआर ३० एपी १२२४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।
दुर्घटनामा ७८२४ नम्बरको मोटरसाइकल चालक गोडैता नगरपालिका–६ का ३० वर्षीय सुमित यादव र भारतीय नम्बरको मोटरसाइकल चालक कबिलासी नगरपालिका–८ का २६ वर्षीय पप्पु पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै जनाको उपचारका क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको हो।
दुर्घटनामा भारतीय नम्बरको मोटरसाइकलमा सवार कबिलासी नगरपालिका–८ का ३३ वर्षीय सुरेन्द्र पासवान र मलंगवा नगरपालिका–६ का १८ वर्षीय बब्लुकुमार पासवान घाइते भएका छन्। उनीहरूको अनुहार, टाउको र खुट्टामा चोट लागेको छ।
प्रादेशिक अस्पताल मलंगवामा प्राथमिक उपचारपछि दुवै घाइतेलाई थप उपचारका लागि जनकपुर पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तीव्र गतिका कारण दुवै मोटरसाइकल अनियन्त्रित भई एकआपसमा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।










