त्रिशूली बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ सय ५६ पुग्यो



681 SHARES

काठमाडौं । रसुवा लगायत विभिन्न जिल्लामा आएको त्रिशूली बाढी तथा पहिरोमा परी हालसम्म १ हजार ३ सय ५६ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार साँझ ६ बजे सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार बाढी तथा पहिरोमा परी ठूलो मानवीय क्षति भएको छ भने अझै ४ हजार ९ सय ९४ जना सम्पर्कविहीन छन् ।

विज्ञापन

प्राधिकरणका अनुसार बाढीबाट सबैभन्दा बढी चितवनमा ३ सय ६३ जनाको मृत्यु भएको छ । यस्तै, नवलपरासी पूर्वमा २ सय २३, नवलपरासी पश्चिममा २ सय २१, नुवाकोटमा १ सय ९७, रसुवामा १ सय ६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ ।

विज्ञापन

फेला परेका शवमध्ये हालसम्म ९८ जनाको मात्रै पहिचान खुलेको छ । पहिचान हुन बाँकी शवको डीएनए परीक्षणका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोटो र नाता प्रमाणित हुने कागजातसहित सम्पर्क गर्न प्राधिकरणले आग्रह गरेको छ ।

विपद्मा परी हालसम्म ६ हजार ६ सय ७६ जना घाइते भएका छन् । तीमध्ये ३ सय २७ जनाको विभिन्न १० वटा अस्पतालमा उपचार भइरहेको छ भने २ सय ४२ जना उपचारपछि घर फर्किएका छन् । घाइतेमध्ये नेपाली सेनाले ३ हजार ३ सय ७९ जना र सशस्त्र प्रहरीले २ हजार ९ सय ७० जनालाई उपचार सेवा प्रदान गरेको प्राधिकरणले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ३ सय ९६ जनाको उद्धार गरिएको छ । रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा ३ हजार ५ सय ३३ जनालाई सुरक्षित राखिएको छ ।

अझै ४ हजार ९ सय ९४ जना सम्पर्कविहीन छन् । तीमध्ये नुवाकोटका २ हजार ३ सय ४०, रसुवाका १ हजार ९ सय ६७, सुरक्षाकर्मी तथा कर्मचारी १ सय र ५ सय ८७ जना विदेशी पर्यटक रहेका छन् ।

बेपत्ताको खोजी तथा उद्धारका लागि २१ हजार ४ सय २ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाली सेनाका ९ हजार २ सय ८७, नेपाल प्रहरीका ७ हजार ९ सय १२ र सशस्त्र प्रहरीका ४ हजार २ सय ३ जना छन् ।

उद्धारका क्रममा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरले हालसम्म १ हजार ४ सय ७९ पटक उडान भरेका छन् ।

सरकारले प्रभावित क्षेत्रमा राहत वितरणलाई पनि तीव्रता दिएको जनाएको छ । भदौ २२ गते मात्रै दुईवटा हेलिकप्टर र आठवटा मिनी ट्रकमार्फत खाद्यान्न तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ ।

सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख तथा प्रभावित १५ वटा पालिकालाई कुल १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ ।

प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्श सेवा प्रदान गर्न १ सय ५० जनाभन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय