बाढीग्रस्त गाउँपालिका अध्यक्षको गुनासो : ‘सरकार आकाश र सामाजिक सञ्जालमा देखिन्छ, पीडितको पीडा सुन्दैन’

झापा। रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले बाढीग्रस्त क्षेत्रमा राज्यको उपस्थिति प्रभावकारी रूपमा महसुस गर्न नसकिएको गुनासो गरेका छन्।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सरकारका विभिन्न निकायसँग समन्वय गर्ने क्रममा गृह मन्त्रालयमा सम्पर्क गर्दा आफूलाई ‘नकारात्मक प्रचार नगर्न’ र ‘राजनीति नगर्न’ भनिएको उनले दाबी गरेका छन्।

विज्ञापन

सामाजिक सञ्जालमा लामो धारणा सार्वजनिक गर्दै अध्यक्ष अर्यालले आफू अहिले बाढीले सर्वनाश गरेको क्षेत्रमा नै रहेको उल्लेख गरेका छन्। उनका अनुसार गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि, शिक्षक, जलविद्युत् आयोजनामा कार्यरत कामदार तथा स्थानीयसहित ठूलो संख्यामा मानिस सम्पर्कविहीन छन्।

विज्ञापन

उनले बेत्रावती बजार, कैदलेटार, पैरेबेसी, सल्लेटार, मैलुङलगायतका क्षेत्रमा अकल्पनीय मानवीय क्षति भएको दाबी गरेका छन्। भूकम्पपछि ११ वर्षदेखि अस्थायी बसोबास गरिरहेका करिब ३ सय परिवारसमेत बाढीबाट प्रभावित भएको उनले बताएका छन्।

अध्यक्ष अर्यालका अनुसार विद्युत् आपूर्ति बन्द भएपछि मोबाइल नेटवर्कमा समेत समस्या आएको छ। सडक सम्पर्क पूर्णरूपमा विच्छेद हुँदा उद्धार तथा राहतमा थप कठिनाइ भएको उनको भनाइ छ।

उनले मरणासन्न अवस्थामा रहेका घाइतेलाई उद्धारका लागि प्रधानमन्त्री कार्यालयदेखि विभिन्न निकायमा समन्वय गर्दा समेत समयमै हेलिकोप्टर उपलब्ध हुन नसकेको गुनासो गरेका छन्। एउटा घाइतेलाई १० घण्टापछि मात्र धुञ्चे अस्पताल पुर्‍याउन सकिएको उनले उल्लेख गरेका छन्।

अर्यालले नदी किनारमा ठूलो संख्यामा शव रहेको र ती शव सड्न थालेपछि आसपासको क्षेत्रमा दुर्गन्ध फैलिन थालेको बताएका छन्। यसले संक्रमणको जोखिम बढाएको भन्दै तत्काल शव व्यवस्थापन गर्नुपर्ने उनको माग छ।

उनका अनुसार प्रभावित क्षेत्रमा सुरक्षाकर्मीसमेत हताहती तथा बेपत्ताको अवस्थामा छन्। बाँकी सुरक्षाकर्मी सीमित स्रोतसाधनका बीच परिचालित रहेको उनले बताएका छन्।

सरकारको भूमिकाप्रति असन्तुष्टि जनाउँदै अर्यालले ‘संघीय सरकार आकाशमा र सामाजिक सञ्जालमा देखिन्छ’ भन्दै मैदानमा रहेका पीडितले सरकारको अनुभूति गर्न नसकेको टिप्पणी गरेका छन्।

उनले आफूले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएपछि गृहमन्त्रीको सचिवालयबाट फोन आएको र नकारात्मक प्रचार नगर्न तथा राजनीति नगर्न भनिएको दाबी गरेका छन्। त्यसको जवाफमा आफूले सरकारको उपस्थिति अनुभूति हुने गरी काम गर्न आग्रह गरेको उनले बताएका छन्।

एमाले नेतृत्वप्रति पनि असन्तुष्टि

अर्यालले आफू नेकपा एमालेसँग आबद्ध रहेको उल्लेख गर्दै पार्टी नेतृत्वप्रति समेत असन्तुष्टि व्यक्त गरेका छन्। उनले आफू दुईपटक केन्द्रीय सदस्य भइसकेको भए पनि विष्णु पौडेल र गोकर्ण विष्टबाहेक पार्टीका अन्य नेताले आफूलाई खोजी नगरेको बताएका छन्।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, सुरेन्द्र पाण्डेलगायत नेता तथा सहयोद्धाहरूले भने चासो र चिन्ता व्यक्त गरेको उनले उल्लेख गरेका छन्।

एमालेको आकस्मिक सचिवालय बैठकबारे सामाजिक सञ्जालमा आएका विषयतर्फ संकेत गर्दै उनले परिणाम नदिने सामाजिक सञ्जाल केन्द्रित गतिविधिभन्दा प्रभावित क्षेत्रमा प्रत्यक्ष काम गर्नुपर्ने बताएका छन्।

३५० प्रभावित विद्यालयमा आश्रित

अध्यक्ष अर्यालका अनुसार उत्तरगया क्षेत्रका करिब ३ सय ५० प्रभावितलाई नीलकण्ठ माध्यमिक विद्यालय, बोगटीटारमा राखिएको छ। कालिका र नौकुण्ड गाउँपालिकाबाट प्राप्त खाद्यान्नले करिब तीन दिनसम्म धान्ने अवस्था रहेको उनले बताएका छन्।

प्रभावितहरू विद्यालयको भुइँमा म्याट्रेस ओछ्याएर रात बिताउन बाध्य रहेको र स्थानीय बासिन्दाले समेत आफ्ना घरमा प्रभावितलाई आश्रय दिइरहेको उनले उल्लेख गरेका छन्।

नियमित औषधि सेवन गर्नुपर्ने बिरामी, सुत्केरी, गर्भवती महिला, ज्येष्ठ नागरिक तथा बालबालिकाका लागि आवश्यक विशेष सहयोग गर्न नसकिएको उनको भनाइ छ।

त्यस्तै, पहिरोको जोखिममा रहेको तिरु क्षेत्रमा ठूलो संख्यामा मानिस रहेको र त्यहाँ खाद्यान्नलगायत आवश्यक सामग्रीको अभाव रहेको जानकारी आएको उनले बताएका छन्। उनीहरूलाई तत्काल सुरक्षित स्थानमा उद्धार गर्नुपर्ने उनको माग छ।

बाढीका कारण नदीको वारिपारि फसेका तथा परिवारबाट छुट्टिएका व्यक्तिलाई उद्धार गरी परिवारसँग पुनर्मिलन गराउनुपर्ने, घरबारविहीन, बेपत्ता, अभिभावकविहीन बालबालिका तथा ध्वस्त भएका निजी तथा सार्वजनिक संरचनाको तथ्यांक संकलन भइरहेको उनले बताएका छन्।

अध्यक्ष अर्यालले प्रमुख जिल्ला अधिकारीसँग समेत सम्पर्क भएको र तत्काल गर्नुपर्ने काम शुक्रबारदेखि सुरु हुने जानकारी पाएको बताएका छन्। स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गरी राज्यको नजरमा ओझेल परेका क्षेत्रका समस्या समाधानतर्फ काम अघि बढ्ने विश्वास उनले व्यक्त गरेका छन्।

अध्यक्ष अर्यालको फेस्बुक पोष्ट :

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय