|
690 SHARES |
झापा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या ३ सय ८९ पुगेको छ। राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार बाढी तथा पहिरो प्रभावित विभिन्न जिल्लामा अहिलेसम्म ३ सय ८९ जनाको शव फेला परेको हो।
प्राधिकरणका अनुसार रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १ सय ३७, गोरखामा ३२, तनहुँमा २८, नवलपरासी पूर्वमा ८७ र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ।
बाढी तथा पहिरोमा परी ९ सय ७७ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीनमध्ये ५ सय १७ जना विदेशी नागरिक रहेका छन्।
यस्तै, विपद्मा परी घाइते भएका ७३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
उद्धार कार्यलाई तीव्रता दिँदै अहिलेसम्म १ हजार ९ सय ७६ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
नेपाली सेनाले अपर त्रिशूली जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका ३ सय ५० मजदुर तथा स्थानीयको समेत उद्धार गरेको छ।
प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। बेपत्ता भएकाहरूको खोजी तथा प्रभावितको उद्धार कार्यलाई निरन्तरता दिइएको जनाइएको छ।










