|
700 SHARES |
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना सांसदलाई बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरको पक्षमा विश्वासको मत दिन ह्वीप जारी गरेको छ।
नेकपा बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले विज्ञप्ति जारी गर्दै भदौ ८ गते सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई निर्देशन दिनुभएको हो।
मुख्यमन्त्री थापा मगरले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने भएकाले उक्त प्रस्तावको पक्षमा मतदान गर्न नेकपाका सांसदलाई निर्देशन दिइएको हो।
बागमती प्रदेशसभामा सत्ता साझेदार नेकपाका २६ जना सांसद छन्। विश्वासको मतका विषयमा छलफल गर्न आइतबार नेकपा संसदीय दलको बैठकसमेत बसेको थियो। यद्यपि, सरकारमा मन्त्री पठाउने विषयमा पार्टीभित्र विवाद देखिएको छ। असन्तुष्ट सांसदहरू भने संसदीय दलको बैठकमा सहभागी नभएको बताइएको छ।
नेकपा एमालेका थापा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा भदौ ४ गते बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको हो।
यसैबीच, राप्रपाले पार्टी केन्द्रको निर्देशनविपरीत मुख्यमन्त्रीलाई समर्थन गरेको भन्दै संसदीय दलका नेता उद्धव थापालाई कारबाही गरेको छ। सरकारमा सहभागी राप्रपाका तीन मन्त्रीलाई भने पूर्ण सफाइको मौका दिँदै आज स्पष्टीकरण सोधिएको छ।











