काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले प्रहरी प्रधान कार्यालयमा विचौलियाको प्रभाव रहेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा बोल्दै सांसद सुनारले यसअघि प्रहरी अधिकारीहरूसँग भएको सवाल–जवाफको प्रसंग उठाउँदै प्रहरीको स्रोत–साधन खरिदसम्बन्धी आफूले मागेको जानकारी प्राप्त भए–नभएकोबारे प्रश्न गरे।
उनले अघिल्लो बैठकमा आफूले उठाएका प्रश्नप्रति आफू अझै दृढ रहेको बताउँदै आफ्नो अभिव्यक्तिबाट कसैको मानमर्दन भएको भए अदालत गएर मुद्दा हाल्न चुनौती दिए।
समितिको अघिल्लो बैठकमा सांसद सुनारको अभिव्यक्ति र प्रस्तुती शैलीलाई लिएर बाहिर आलोचना भएको थियो। यस विषयमा सभामुखले समेत चासो लिएर समितिका सभापति, सचिव र प्रहरी महानिरीक्षकसँग छलफल गरेका थिए।
त्यसपछि रास्वपाले आफ्ना सांसदलाई बैठकमा प्रस्तुत हुँदा मर्यादा कायम गर्न निर्देशनसमेत दिएको थियो।










