|
733 SHARES |
खुदुनाबारी, झापा । झापाको अर्जुनधारा–३ फाल्गुनन्द चोकनजिकै ‘भोगटे छहारी गार्डेन एण्ड रेष्टुरेन्ट’ नयाँ व्यवस्थापन र थप आकर्षणसहित पुनः सञ्चालनमा आएको छ।
स्थानीय बजार क्षेत्रमा केही वर्षअघि सुविधा सम्पन्न रेष्टुरेन्टका रूपमा स्थापित भएको छहारी करिब डेढ वर्षदेखि बन्द थियो।
पुरानै संरचनालाई व्यवस्थित गर्दै युवा व्यवसायी मोहन श्रेष्ठ, रामचन्द्र आचार्य र केबी थापा मगरको संयुक्त लगानीमा रेष्टुरेन्टलाई नयाँ स्वरूपमा सञ्चालनमा ल्याइएको हो।
रेष्टुरेन्टको औपचारिक उद्घाटन अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव सिंह गोम्देनले गर्नुभएको छ।

खानाका पारखीका लागि नयाँ गन्तव्य
‘भोगटे छहारी’लाई सामान्य खानाका लागि मात्र नभई परिवार तथा साथीभाइसँग समय बिताउन सकिने गन्तव्यका रूपमा विकास गरिएको सञ्चालक मोहन श्रेष्ठले बताउनुभयो।
यहाँ नियमित रूपमा पाइने विभिन्न खानाका परिकारसँगै बदेल, कालिजलगायतका विशेष परिकार उपलब्ध हुने उहाँले जानकारी दिनुभयो। फरक स्वादका परिकार, शान्त वातावरण र खुला गार्डेनले रेष्टुरेन्टलाई अन्यभन्दा पृथक बनाउने सञ्चालकको दाबी छ।
ग्राहकका लागि रेष्टुरेन्टको भित्री तथा बाहिरी क्षेत्रमा पर्याप्त बस्ने व्यवस्था मिलाइएको छ। प्राकृतिक वातावरणको अनुभूति लिन सकिने गरी तयार गरिएको गार्डेन परिसर यहाँको मुख्य आकर्षण बनेको छ।

मनोरञ्जन र पारिवारिक समयका लागि पनि उपयुक्त
रेष्टुरेन्ट परिसरमा आकर्षक गार्डेनसँगै ब्याडमिन्टन कोर्टलगायतका संरचना निर्माण गरिएको छ। यसले खानासँगै मनोरञ्जन र पारिवारिक भेटघाटका लागि पनि उपयुक्त वातावरण तयार गरेको सञ्चालकहरूको भनाइ छ।
ग्राहकलाई आवश्यकताअनुसार बस्ने व्यवस्थासमेत उपलब्ध गराइएको छ। गार्डेनको हरियाली र खुला वातावरणमा विभिन्न परिकारको स्वाद लिन सकिने भएकाले आन्तरिक पर्यटक तथा स्थानीय ग्राहकलाई लक्षित गरिएको छ।

२० लाख लगानीमा नयाँ व्यवस्थापन
नयाँ व्यवस्थापनले रेष्टुरेन्टलाई पुनः सञ्चालनमा ल्याउन मात्रै करिब २० लाख रुपैयाँ खर्च गरेको जनाएको छ। यसअघि स्थापनादेखि हालसम्म रेष्टुरेन्टमा करिब १ करोड रुपैयाँ लगानी भइसकेको सञ्चालकहरूले बताएका छन्।
रेष्टुरेन्ट सञ्चालनसँगै हाल ८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। स्थानीय क्षेत्रमा रोजगारी सिर्जना गर्दै गुणस्तरीय सेवा र खानाको अनुभव प्रदान गर्ने लक्ष्यसहित व्यवसाय अघि बढाइएको सञ्चालक श्रेष्ठले बताउनुभयो।

हङकङ निवासी दिवस राईले स्थापना गरी सञ्चालनमा ल्याएको ‘छहारी’ अब नयाँ लगानी र व्यवस्थापनसहित ‘भोगटे छहारी गार्डेन एण्ड रेष्टुरेन्ट’का रूपमा पुनः ग्राहकको सेवामा आएको हो।
खुदुनाबारी बजार क्षेत्रको आतिथ्य तथा खानपान व्यवसायमा नयाँपन थप्ने उद्देश्यसहित सञ्चालनमा आएको रेष्टुरेन्टले स्थानीय ग्राहकसँगै बाहिरी क्षेत्रबाट आउने पाहुनालाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ।















