|
1,539 SHARES |
झापा । नेपाल कम्युनिस्ट पार्टी -माओवादी)ले ७२ घण्टाभित्र खाना पकाउने ग्यासको आपूर्ति सहज नगरे नेपाल बन्द गर्ने चेतावनी दिएको छ।
पार्टीका महासचिव ‘गारख’ले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत देशभर देखिएको ग्यास अभाव, मूल्यवृद्धि, कालोबजारी तथा बजारमा देखिएको बेथिति तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेका हुन्।
विज्ञप्तिमा ग्यासको सहज आपूर्ति र मूल्यवृद्धि नियन्त्रणका लागि सरकारलाई ७२ घण्टे अल्टिमेटम दिइएको छ। उक्त अवधिभित्र समस्या समाधान नभए नेपाल बन्दको कार्यक्रम घोषणा गर्ने चेतावनी पार्टीले दिएको छ।
ग्यास डिपोमा भइरहेको भनिएको कालोबजारी नियन्त्रण गर्न माग गर्दै पार्टीले आफ्ना नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकलाई बजार अनुगमनमा सक्रिय हुन निर्देशन दिएको जनाएको छ। कालोबजारीमा संलग्नलाई ‘जनकारबाही’ गर्ने चेतावनीसमेत विज्ञप्तिमा उल्लेख छ।
माओवादीले बढ्दो महँगीका कारण भूमिहीन, सुकुम्बासी, मजदुर, किसान, विद्यार्थी तथा आदिवासी जनजातिसहित आम नागरिक प्रभावित भएको दाबी गरेको छ। शिक्षा तथा स्वास्थ्यमा लगाइएका विभिन्न कर खारेज गर्दै मजदुर, किसान र सुकुम्बासीका लागि निःशुल्क शिक्षा तथा स्वास्थ्यको व्यवस्था गर्न पनि सरकारसँग माग गरिएको छ।
यस्तै, मिटरब्याज, लघुवित्तबाट हुने शोषण, भ्रष्टाचार, बलात्कार तथा नागरिक सुरक्षाका विषयमा सरकार गम्भीर बन्न नसकेको आरोप पार्टीले लगाएको छ।
विज्ञप्तिमार्फत माओवादीले वर्तमान संसदीय व्यवस्थालाई असफल व्यवस्था भएको निष्कर्षसमेत प्रस्तुत गरेको छ। उसले ‘नयाँ जनवादी क्रान्ति’ र ‘राष्ट्रिय मुक्ति क्रान्ति’का लागि आम नेपालीलाई गोलबन्द हुन आह्वान गरेको छ।
पार्टीले सरकार जनताका समस्याप्रति जिम्मेवार बन्न नसकेको आरोप लगाउँदै तत्काल ग्यास आपूर्ति सहज बनाउन, मूल्यवृद्धि नियन्त्रण गर्न र कालोबजारी रोक्न पुनः माग गरेको छ।
विज्ञप्ति :










