|
2,467 SHARES |
बिर्तामोड । आन्तरिक राजस्व कार्यालय झापाले गत आर्थिक वर्षमा रु चार अर्ब ९३ करोड ४६ लाख ८५ हजार राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले गत आर्थिक वर्षमा रु छ अर्ब छ करोड ८६ लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । तर, लक्ष्यको ८१ दशमलव ३१ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी डिल्लीराम चौलागाईंका अनुसार सङ्कलित राजस्वमध्ये सबैभन्दा बढी आयकरबाट रु दुई अर्ब ४१ करोड ६१ लाख सात हजार प्राप्त भएको छ ।
त्यस्तै, मूल्य अभिवृद्धि करबाट रु एक अर्ब ६६ करोड २९ लाख ९५ हजार र अन्तःशुल्कबाट रु ६७ करोड ८९ लाख पाँच हजार राजस्व सङ्कलन भएको छ ।
यसैगरी, भाडा आयकरतर्फ रु पाँच करोड ६६ लाख ७८ हजार, ब्याज करतर्फ रु नौ करोड ३६ लाख ८० हजार तथा अन्य शीर्षकबाट रु दुई करोड ६३ लाख २१ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
आन्तरिक राजस्व कार्यालय झापाको कार्यक्षेत्र झापासहित इलाम, पाँचथर र ताप्लेजुङ जिल्ला रहेको छ । कार्यालयले यी जिल्लाबाट विभिन्न शीर्षकमा कर तथा राजस्व सङ्कलन गर्दै आएको छ ।










