|
3,199 SHARES |
बिर्तामोड । सामाजिक सन्देश बोकेको नेपाली चलचित्र ‘हली’ आजदेखि देशभर प्रदर्शनमा आएको छ। प्रदर्शनको पहिलो दिनमै पूर्वमा भने झापाली दर्शकबाट चलचित्रले उत्साहजनक साथ पाएको छ।
बिर्तामोडस्थित पाथिभरा सिनेमा हलमा भएको पहिलो प्रदर्शन नै हाउसफुल भएपछि चलचित्रप्रति दर्शकको आकर्षण देखिएको हो। चलचित्र हेरेर बाहिरिएका दर्शकहरूले ‘हली’ले समाजमा अझै विद्यमान छाउपडीजस्ता कुप्रथाविरुद्ध सशक्त सन्देश दिएको भन्दै यसको कथा, प्रस्तुति र अभिनयको खुलेर प्रशंसा गरेका छन्।
आजदेखि देशभर प्रदर्शनमा आएको चलचित्र ‘हली’ले छाउपडीजस्ता सामाजिक कुप्रथाविरुद्धको आवाजलाई मुख्य विषय बनाएको छ। समाजमा जरा गाडेर बसेका विकृति र विसंगतिको अन्त्यका लागि एक हलीले गरेको संघर्षलाई चलचित्रले मार्मिक ढंगले प्रस्तुत गरेको छ।
जापुरा फिल्म प्रोडक्सन प्रालिले निर्माण गरेको यस चलचित्रले किसानको संघर्षपूर्ण जीवनसँगै सामाजिक विभेद र कुरीतिलाई उजागर गर्दै परिवर्तनको सन्देश दिएको छ। सशक्त कथा र यथार्थपरक प्रस्तुतीकरणका कारण चलचित्रले पहिलो दिनदेखि नै दर्शकको सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएको छ।
ओम प्रतीकको लेखन तथा निर्देशन रहेको चलचित्र ‘हली’मा प्रमोद दीप, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कमल गाउँले र विशाल पहाडीलगायत कलाकारहरूको अभिनय रहेको छ।










