सिन्धुलीको नवलपुरघाटमा दुर्घटना : सुनकोशीमा खसेको कारका सवारको पहिचान खुल्यो



5,267 SHARES

रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा सुनकोशी नदीमा खसेको कारमा सवार चार जनामध्ये दुई जनाको पहिचान खुलेको छ भने अन्य दुई जना अझै बेपत्ता छन्।

सिन्धुली प्रहरीका अनुसार आज बिहान करिब ११ः४५ बजे काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको सडक विभाग यान्त्रिक कार्यालय मुलकोटअन्तर्गत प्रयोग हुने कारलाई ठक्कर दिएको थियो। ठक्करपछि कार करिब ५० फिट तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ।

विज्ञापन

दुर्घटनामा कार चालक सिन्धुपाल्चोक निवासी करिब ३९ वर्षीय दिलकुमार लामा र स्काइभेटर चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी करिब २७र२८ वर्षीय गणेश थापाको पहिचान खुलेको छ। कारमा रहेका नाम, थर र ठेगाना नखुलेका अन्य दुई जना अझै बेपत्ता रहेका प्रहरीले जनाएको छ।

विज्ञापन

प्रहरीका अनुसार दुर्घटनाग्रस्त कार सडक विभाग यान्त्रिक कार्यालय मुलकोट, मध्यपहाडी लोकमार्गसँग सम्बन्धित रहेको छ। यसअघि प्राप्त प्रारम्भिक जानकारीमा चालक तिलकुमार लामा मध्यपहाडी लोकमार्ग निर्माण आयोजनासँग आबद्ध कन्ट्र्याक्टर रहेको उल्लेख भए पनि प्रहरीले पछि चालकको पहिचान दिलकुमार लामा भएको स्पष्ट पारेको छ।

दुर्घटनापछि बस चालक फिक्कल गाउँपालिका–६ निवासी २६ वर्षीय हेमबहादुर तामाङलाई नियन्त्रणमा लिइएको छ। बसलाई समेत खाङसाङ प्रहरी चौकीमा राखिएको प्रहरीले जनाएको छ।

हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य उद्धार टोली घटनास्थलमा परिचालित भई सुनकोशी नदीमा बेपत्ता कार र चारै जनाको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइरहेका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय