आधुनिक पूर्वाधार र प्रविधिमैत्री शिक्षासहित उदायो एन्जेलिका



705 SHARES

विनोद सापकोटा
झिलझिले । शिवशताक्षी नगरपालिका–८ को सम्झना चोकमा यसै शैक्षिक सत्रदेखि सञ्चालनमा आएको एन्जेलिका एकेडेमीले आधुनिक पूर्वाधार, अनुभवी शिक्षक, प्रविधिमैत्री अध्ययन प्रणाली र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिलाई आधार बनाएर गुणस्तरीय शिक्षाको नयाँ गन्तव्य बन्ने संकेत दिएको छ ।

स्थापना भएको पहिलो वर्षमै उल्लेखनीय विद्यार्थी भर्ना गराउन सफल विद्यालयले बुधबार १५ कोठे भूकम्प प्रतिरोधात्मक विद्यालय भवनको शिलान्यास गर्दै आफ्नो दीर्घकालीन शैक्षिक यात्रालाई थप मजबुत बनाएको छ। सयौं अभिभावक, शिक्षाप्रेमी, स्थानीय बुद्धिजीवी तथा सरोकारवालाको उपस्थितिमा सम्पन्न शिलान्यास कार्यक्रमले विद्यालयप्रति समुदायको बढ्दो विश्वासलाई झल्काएको थियो।

विज्ञापन

विद्यालयका प्रिन्सिपल आशिष बस्नेतका अनुसार निर्माण हुने तीनतले भवनको प्रत्येक तलामा पाँच–पाँच वटा कक्षाकोठा रहनेछन्। छात्र र छात्राका लागि छुट्टाछुट्टै आधुनिक शौचालय, सुरक्षित सिकाइ वातावरण र आवश्यक शैक्षिक पूर्वाधारसहितको भवन आगामी पुस्ताको आवश्यकतालाई ध्यानमा राखेर निर्माण गर्न लागिएको हो। करिब ११ कठ्ठा क्षेत्रफलमा फैलिएको विद्यालय परिसरमा थप पाँच कठ्ठा जग्गा खेलकुदका लागि छुट्याइएको छ। अधिकांश निजी विद्यालयहरू सीमित खुला क्षेत्रमा सञ्चालन भइरहेका बेला एन्जेलिका एकेडेमीले अध्ययनसँगै खेलकुद, सिर्जनशीलता र व्यक्तित्व विकासलाई पनि समान प्राथमिकता दिएको छ। कराते, एथलेटिक्स, ब्याडमिन्टन, कबड्डी र नृत्यका नियमित कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ। यसले विद्यार्थीको शारीरिक र मानसिक विकासलाई सँगसँगै अघि बढाउने विद्यालयको अवधारणालाई स्पष्ट पारेको स्थानीय अभिभावकले बताएका छन्।

विज्ञापन

विद्यालयको अर्को विशेषता भनेको भविष्यमुखी शिक्षा प्रणाली हो। परम्परागत पाठ्यक्रममा मात्र सीमित नरही विद्यालयले अनिवार्य विषयसँगै ऐच्छिक गणित, अर्थशास्त्र, कम्प्युटर साइन्स, कृत्रिम बुद्धिमत्ता (एआई) तथा रोबोटिक्सको अध्ययन–अध्यापन सुरु गरेको छ। विश्वभर शिक्षा प्रविधिमा आधारित बन्दै गइरहेका बेला स्थानीय तहमै यस्ता विषयको अध्ययनको अवसर सिर्जना हुनु यस क्षेत्रका विद्यार्थीका लागि सकारात्मक सुरुआत मानिएको छ।

स्थापना भएको पहिलो वर्षमै विद्यालयले नर्सरी, एलकेजी र युकेजीमा ७० तथा कक्षा १ देखि ९ सम्म १४५ गरी कुल २१५ विद्यार्थी भर्ना गराएको छ। नयाँ विद्यालयका लागि यो संख्या आफैंमा उल्लेखनीय मानिएको छ। स्थानीय अभिभावकहरू विद्यालयको व्यवस्थापन, अनुभवी शिक्षक, अनुशासित वातावरण र भविष्यको स्पष्ट योजनाबाट प्रभावित भएको बताउँछन्। विद्यालय प्रशासनले आगामी शैक्षिक सत्र २०८४ मा करिब ४५० विद्यार्थी भर्ना गर्ने लक्ष्य सार्वजनिक गरेको छ।

विद्यालयको नेतृत्व गरिरहेका प्रिन्सिपल आशिष बस्नेत झापाको संस्थागत विद्यालय क्षेत्रमा परिचित नाम हुन्। करिब एक दशकदेखि विद्यालय प्रशासन र शैक्षिक नेतृत्वमा सक्रिय बस्नेत यसअघि झिलझिलेस्थित संस्कार अङ्ग्रेजी माध्यमिक विद्यालयका सफल प्रिन्सिपलका रूपमा परिचित थिए। उनले विद्यालयमा लेखाशास्त्र विषय आफैं अध्यापन गर्नेछन्। साथै अर्थशास्त्र, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयका लागि सम्बन्धित क्षेत्रमा स्नातकोत्तर उत्तीर्ण तथा अनुभवी शिक्षक नियुक्त गरिएको विद्यालयले जनाएको छ। गुणस्तरीय शिक्षा अनुभवी शिक्षकबाट मात्र सम्भव हुने मान्यतामा विद्यालय दृढ देखिन्छ।

निजी विद्यालयप्रति अभिभावकको अर्को गुनासो चर्को शुल्क हुने गरेको छ। यही अवस्थालाई ध्यानमा राख्दै एन्जेलिका एकेडेमीले गुणस्तरमा कुनै सम्झौता नगरी तुलनात्मक रूपमा सहज शुल्कमा शिक्षा उपलब्ध गराउने नीति लिएको जनाएको छ। सरकारले निर्धारण गरेको मापदण्डभित्र रहेर सेवा दिने विद्यालयको प्रतिबद्धताले मध्यम आय भएका परिवारलाई पनि राहत पुग्ने अपेक्षा गरिएको छ।

पूर्व–पश्चिम राजमार्गको सम्झना चोकबाट करिब ३०० मिटर दक्षिणमा अवस्थित विद्यालय शान्त, हरियालीयुक्त र प्रदूषणरहित वातावरणमा रहेको छ। आकर्षक फूलबारी, व्यवस्थित बगैंचा, फराकिलो खेलमैदान र बालमैत्री सिकाइ वातावरण विद्यालयका थप विशेषता हुनेछन्। शिक्षा मनोविज्ञानका दृष्टिले पनि यस्ता वातावरणले विद्यार्थीको सिकाइ क्षमता, आत्मविश्वास र सिर्जनशीलतामा सकारात्मक प्रभाव पार्ने मानिन्छ।

शिवशताक्षी–८ मा यसअघि चार संस्थागत माध्यमिक विद्यालय सञ्चालनमा थिए। एन्जेलिका एकेडेमी थपिएसँगै यस क्षेत्रमा स्वस्थ शैक्षिक प्रतिस्पर्धा बढ्ने अपेक्षा गरिएको छ। प्रतिस्पर्धाले विद्यालयहरूलाई गुणस्तर सुधारतर्फ प्रेरित गर्ने भएकाले त्यसको प्रत्यक्ष लाभ विद्यार्थी र अभिभावकले पाउने विश्वास स्थानीयवासीको छ।

प्रिन्सिपल बस्नेतका अनुसार विद्यालयको लक्ष्य परीक्षा उत्तीर्ण गराउने विद्यार्थी उत्पादन गर्नु होइन, नैतिक आचरण, व्यवहारिक ज्ञान, प्रविधिमैत्री सोच, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व भएका नागरिक तयार गर्नु हो। “हामी गुणस्तरमा कुनै सम्झौता गर्दैनौं। अनुभवी शिक्षक, आधुनिक शिक्षण पद्धति, सुरक्षित पूर्वाधार र विद्यार्थीमैत्री वातावरणमार्फत अभिभावकको विश्वासलाई नतिजामा रूपान्तरण गर्नेछौं,” उनले भने।

पहिलो वर्षमै विद्यार्थीको उत्साहजनक साथ, आधुनिक भवन निर्माणको सुरुआत, प्रविधिमैत्री शिक्षाको योजना, दक्ष शिक्षकको टोली र स्पष्ट शैक्षिक दृष्टिकोणले एन्जेलिका एकेडेमीलाई शिवशताक्षी मात्र होइन, झापाको संस्थागत शिक्षा क्षेत्रमा पनि सम्भावनायुक्त विद्यालयका रूपमा स्थापित गराउने आधार तयार भएको देखिन्छ। आगामी वर्षहरूमा विद्यालयले घोषणा गरेका योजना व्यवहारमा उतार्न सके एन्जेलिका एकेडेमी गुणस्तरीय शिक्षाको नयाँ मानक बन्न सक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
3
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय