शिवसताक्षीका १५ युवालाई ५० हजार रुपैयाँ बराबरका व्यवसायिक सामग्री सहयोग



744 SHARES

झापा । वैदेशिक रोजगारीबाट फर्किएका, आर्थिक रूपमा विपन्न तथा स्वदेशमै स्वरोजगार बन्न इच्छुक १५ जना युवालाई व्यवसाय सञ्चालनका लागि आवश्यक सामग्री तथा उपकरण हस्तान्तरण गरिएको छ। शिवसताक्षी नगरपालिकाको कार्यालय परिसरमा मंगलबार कारितास नेपालद्वारा सञ्चालित ‘सुरक्षित आप्रवासनमार्फत मानव बेचबिखन विरुद्धको सबलीकरण परियोजना’ अन्तर्गत तेस्रो वर्षको जीविकोपार्जन सहयोग कार्यक्रममार्फत प्रत्येक लाभग्राहीलाई ५० हजार रुपैयाँ बराबरका व्यवसायिक सामग्री प्रदान गरिएको हो।

उद्यमशीलताको विकास गर्दै युवालाई आफ्नै गाउँठाउँमा आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा नगरपालिकाका वडा नं. १, ४, ७, ८ र ११ बाट छनोट भएका प्रत्येक वडाका तीन–तीन जना गरी १५ जना लाभग्राहीलाई सामग्री हस्तान्तरण गरिएको परियोजनाका परिचालक चिरञ्जिवी लुइँटेलले जानकारी दिनुभयो।

विज्ञापन

कार्यक्रममा नगरप्रमुख मेगाहाङ थोप्राले स्थानीयस्तरमै साना व्यवसाय सञ्चालन गरी आयआर्जन बढाउन र युवालाई स्वदेशमै आत्मनिर्भर बनाउन सहयोग पुर्‍याउने उद्देश्यले सामग्री वितरण गरिएको बताउनुभयो। उहाँले प्रदान गरिएका सामग्रीको प्रभावकारी उपयोग गर्दै व्यवसायलाई निरन्तरता दिन र आयआर्जन वृद्धि गर्न लाभग्राहीलाई आग्रह गर्नुभयो। नगरपालिकाका अनुसार वडा नं. १ का लाभग्राहीलाई निर्माण (कन्स्ट्रक्सन) सम्बन्धी उपकरण, चिया पसल सञ्चालनका लागि आवश्यक सामग्री तथा चटपटे, चाउमिन र मःम पसल सञ्चालनका लागि ठेलागाडा, ग्यास सिलिन्डरलगायत सामग्री उपलब्ध गराइएको छ।

विज्ञापन

वडा नं. ४ का दुई जनालाई चटपटे व्यवसाय सञ्चालनका लागि ठेलागाडा, ग्यास सिलिन्डर र भट्टी चुलो तथा एक जनालाई किराना पसल सञ्चालनका लागि आवश्यक सामग्री प्रदान गरिएको छ। वडा नं. ७ का दुई जनालाई उन्नत जातका गाई र एक जनालाई साइकल तथा मोटरसाइकल मर्मतका लागि आवश्यक औजार तथा स्पेयर्स पार्ट्स हस्तान्तरण गरिएको छ।

 

त्यसैगरी वडा नं. ८ का एक जनालाई आल्मुनियम फेब्रिकेसनका लागि आवश्यक सम्पूर्ण उपकरण, एक जनालाई तरकारी तथा किराना पसल सञ्चालनका लागि खाट, क्रेट, डिजिटल तौल मेसिनलगायत सामग्री तथा अर्का एक जनालाई व्यवस्थित मासु पसल (टहरा) निर्माण गरी हस्तान्तरण गरिएको छ।

वडा नं. ११ का दुई जनालाई उन्नत जातका गाई र एक जनालाई व्यावसायिक रूपमा रुख कटानका लागि चेन मेसिन उपलब्ध गराइएको कारितास नेपालले जनाएको छ। परियोजनाले यस सहयोगबाट वैदेशिक रोजगारीबाट फर्किएका तथा आर्थिक रूपमा कमजोर युवालाई आफ्नै गाउँठाउँमा स्वरोजगार सिर्जना गर्न, उद्यमशीलता प्रवर्द्धन गर्न र आत्मनिर्भर बन्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।

कारितास नेपाल प्रादेशिक कार्यालयका प्रमुख शंकरकुमार पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फे, सम्बन्धित वडाका वडाध्यक्ष तथा परियोजनाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय