बिर्तामोड। वीरता जेसिसको आयोजनामा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव बिर्तामोड नगरपालिका–९ मा उत्साह, उमङ्ग र कृषिप्रतिको सम्मानका साथ सम्पन्न भएको छ। कृषि संस्कृतिको संरक्षण, श्रमको सम्मान, खाद्य आत्मनिर्भरता प्रवर्द्धन तथा युवापुस्तालाई कृषिप्रति आकर्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा कृषक, जनप्रतिनिधि, सामाजिक अगुवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य सुधिरकुमार सेवाकोटीले कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै आधुनिक प्रविधिको प्रयोग, युवाको सक्रिय सहभागिता र स्थानीय उत्पादनको प्रवर्द्धनमार्फत देशलाई खाद्य आत्मनिर्भर बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले राष्ट्रिय धान दिवस कृषकको श्रमप्रतिको सम्मान र कृषि संस्कृतिको संरक्षण गर्ने महत्वपूर्ण अभियान भएको धारणा व्यक्त गर्नुभयो।
वीरता जेसिस वर्ष २०२६ का अध्यक्ष जेसी लोकचन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन जेसी प्रभात मास्केले गर्नुभएको थियो। स्वागत मन्तव्य राख्दै मास्केले राष्ट्रिय धान दिवसको महत्व, कृषि क्षेत्रको वर्तमान अवस्था तथा उत्पादन वृद्धि गर्न सबैको साझा दायित्वबारे प्रकाश पार्नुभयो।
कार्यक्रममा बिर्तामोड–९ का वडा अध्यक्ष हरिप्रसाद चौलागाईं, नेपाल जेसिसका पूर्व राष्ट्रिय उपाध्यक्ष सेनेटर घनश्याम चौधरी, वीरता जेसिसका पूर्व अध्यक्ष तथा नेपाल जेसिस राष्ट्रिय महाधिवेशन निर्देशक जेसी राजकुमार पोखरेल, धान दिवस अभियानका परिकल्पनाकार पूर्व अध्यक्ष जेसी विकास बस्नेत, पूर्व अध्यक्षहरू जेसी प्रविण खड्का र जेसी सजेश शिवाकोटी, वितरण खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मेघराज बास्तोला, छठ समाज सेवा समितिका कार्यवाहक अध्यक्ष मनोज रौनियार, लायन्स क्लब अफ बिर्तामोड सिटीका अध्यक्ष संजय चौधरी लगायतको उपस्थिति रहेको थियो। साथै बिर्तामोड कृषि केन्द्रका प्रतिनिधि, विभिन्न सामाजिक तथा व्यावसायिक संघसंस्थाका पदाधिकारी, कृषक र स्थानीयवासीको उल्लेखनीय सहभागिता थियो।
महोत्सवमा सहभागीहरूले परम्परागत शैलीमा सामूहिक धान रोपाइँ गर्दै कृषिप्रतिको सम्मान व्यक्त गरेका थिए। रोपाइँसँगै स्थानीय संस्कृति झल्काउने विविध गतिविधिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
वीरता जेसिसले सन् २०२४ मा बिर्तामोड–३ बाट सुरु गरेको रोपाइँ महोत्सव अभियानअन्तर्गत प्रत्येक वर्ष फरक–फरक वडामा कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष बिर्तामोड–९ मा आयोजना गरिएको महोत्सवको उद्देश्य कृषिप्रति जनचेतना अभिवृद्धि गर्ने, कृषकलाई सम्मान गर्ने, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने तथा युवालाई कृषि क्षेत्रमा आकर्षित गर्नु रहेको आयोजकले जनाएको छ।
कार्यक्रम सफल बनाउन गरमकाली कृषक समूहले विशेष सहयोग गरेको थियो। आयोजकले समूहसहित स्थानीय समुदायप्रति आभार व्यक्त गर्दै आगामी वर्षहरूमा पनि बिर्तामोडका अन्य वडामा कार्यक्रम विस्तार गर्दै कृषिप्रतिको सकारात्मक सन्देश व्यापक बनाइने जनाएको छ।
कार्यक्रमको समापनमा अध्यक्ष जेसी लोकचन्द्र श्रेष्ठले राष्ट्रिय धान दिवसलाई औपचारिकतामा सीमित नराखी कृषकको सम्मान, कृषि संस्कृतिको संरक्षण, वातावरणीय सन्तुलन तथा खाद्य सुरक्षासँग जोडिएको अभियानका रूपमा निरन्तर अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।










