|
797 SHARES |
झापा। झापाका अग्रज तथा संघर्षशील पत्रकार लक्ष्मीप्रसाद भण्डारीको ७५ वर्षको उमेरमा निधन भएको छ। ब्लड क्यान्सरबाट पीडित भण्डारीको आइतबार बिहान शिवसताक्षी नगरपालिका–६, धौलेचोकस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
छोरा शिव भण्डारीका अनुसार करिब एक वर्षअघि उनलाई ब्लड क्यान्सर पुष्टि भएको थियो । उहाँको अन्त्येष्टि असार १५ गते बिहान १० बजे शिवसताक्षी नगरपालिका–१० स्थित कन्काईधाममा गरिने परिवारले जनाएको छ।
पत्रकार भण्डारीले पञ्चायतकालदेखि नै पत्रकारितालाई जीवनको मुख्य कर्म बनाएका थिए। झापाबाट प्रकाशित हिजोआज दैनिक, विवेचना दैनिक, फेवा पाक्षिक तथा पूर्वाञ्चल दैनिक लगायतका सञ्चारमाध्यममा आबद्ध रहँदै उनले विशेषगरी तत्कालीन शिवगञ्ज, पाँचगाछी, बैगुन्धुरा र महाभारा क्षेत्रका विकास, सामाजिक गतिविधि तथा खोजमूलक समाचारमार्फत छुट्टै पहिचान बनाएका थिए।
राजनीतिक प्रतिबन्धको समयमा समाचार लेखेकै कारण उनी तत्कालीन राज्यको निगरानीमा परेका थिए। पक्राउ परेपछि उनले करिब १४ महिना जेल जीवन बिताएका थिए। जेलमुक्तिपछि उनले लामो समयसम्म जुत्ता–चप्पल नलगाउने अठोट गरेका थिए। परिवारका अनुसार २०५४ सालमा जेलमुक्त भएका उनले त्यसपछि पहिलो पटक २०७० सालमा छोरा शिवको विवाहका अवसरमा मात्र जुत्ता लगाएका थिए।
माओवादी सशस्त्र द्वन्द्वकालमा समेत उनले पत्रकारिता छाडेनन्। त्यसबेला शिवगञ्जबाट साइकल चढेर भद्रपुर पुगेर समाचार प्रेसमा बुझाउने, छापिएका पत्रपत्रिका वितरण गर्ने र निरन्तर रिपोर्टिङ गर्ने उनको दैनिकी थियो।
पत्रकारिताप्रति समर्पित भण्डारीका समकालीन पत्रकार मदन ढकाल र डिल्लीराम निर्भिकको यसअघि नै निधन भइसकेको छ भने नकुलकाजी हाल भद्रपुरमा बसेर साहित्यिक लेखनमा सक्रिय छन्।
स्वर्गीय भण्डारीका पाँच छोरी र एक छोरा छन्। उहाँको निधनसँगै झापाको पत्रकारिता क्षेत्रले संघर्षशील, निर्भीक र निष्ठावान् अग्रज पत्रकार गुमाएको छ।









