|
710 SHARES |
अर्जुनधारा । वर्षायाममा हुनसक्ने सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै अर्जुनधारा नगरपालिकामा तीनदिने मनसुनजन्य विपद् प्रतिकार्य तथा पूर्व अभ्यास तालिम सुरु भएको छ ।
नगरपालिकाको वातावरण शाखाको आयोजना तथा कोशी प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म चन्द्रगढीको सहयोगमा तालिम सुरु भएको हो ।
तालिमको एक संक्षिप्त कार्यक्रमकाबिच अर्जुनधाराका नगरप्रमुख बलदेवसिंह गोम्देनले उद्घाटन गरे। तालिमलाई कोशी प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म चन्द्रगढीका प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठको नेतृत्वमा रहेको प्रहरी नायव निरिक्षक सुवास मिश्र, प्रहरी साहयक निरिक्षक सुसान्त पौडेल र चेतन दाहाल लगायत ८ जनाको टोलीले सहजीकरण गरिरहेका छन् । विशेष गरेर विपद्बारे जानकारी, प्राथमिक उपचार, बिरामी बोक्ने तरिका, आगालागिको प्रकार र परिचय, दमकलको प्रयोग, आगो निभाउने तरिका, वाटर रेस्क्यू, बोटबाट गरिने उद्दार र डोरीबाट गरिने उद्दार कार्यलाई प्राथमिकतामा राखेर तालिम प्रदान गरिने प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।
वर्षायाम सुरु भएसँगै अर्जुनधारा नगरपालिका क्षेत्रमा विशेष गरेर बाढी, आगलागी, डुबान र चट्याङलगायतका विपद् आउने गरेको छ । सम्भावित विपद्लाई मध्यनजर गर्दै तालिम सुरू गरिएको हो ।
वातावरण शाखा अधिकृत सपना रिमालका अनुसार दुई दिन सैद्धान्तिक र एक दिन अभ्यास तालिम दिइने छ । सैद्धान्तिक कक्षा नगरको सभाहलमा भइरहेको छ भने अभ्यास सालबारी झिलमा गरिने बताइएको छ ।
तालिममा सामुदायिक वनका रक्षक, वडास्तरीय विपद् प्रतिकार्य कार्य दल, रेडक्रसकर्मी, नगर प्रहरी र युवा क्लब लगायतका सरोकारवालाहरुसहित ५० जनाभन्दा बढीको सहभागिता रहेको छ ।









