|
713 SHARES |
झापा । भारतको सिलिगुडीनजिक बागडोगरा क्षेत्रमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका झापा बिर्तामोडका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ।
आज साँझ करिब ५ बजे तीव्र गतिमा रहेको बाग्मती प्रदेश–०१–०३२ च १६८० नम्बरको कार अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको भारतीय प्रहरीले जनाएको छ। दुर्घटनामा बिर्तामोड नगरपालिका–५ निवासी २३ वर्षीय अमित चौधरी गम्भीर घाइते भएका थिए।
दुर्घटनापछि उनलाई तत्काल बागडोगरास्थित ग्यालेक्सी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। अस्पतालका अनुसार उनको टाउको, मुटुलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो। अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि नियोटिया अस्पताल लगिएको थियो। उपचारका क्रममा उनलाई कार्डियोपल्मोनरी रिससिटेसन (सीआरपी) आवश्यक परेको जनाइएको थियो।
यद्यपि, उपचारका सबै प्रयासका बाबजुद उनको मृत्यु भएको भारतीय प्रहरीले पुष्टि गरेको छ।
दुर्घटनामा कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने घटनापछि सवारी साधन झन्डै दुई टुक्रा भएको बताइएको छ। सीमावर्ती सहर काँकरभिट्टाबाट करिब २३ किलोमिटर दूरीमा रहेको बागडोगरामा उक्त दुर्घटना भएको हो।
घटनाबारे भारतीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।









