|
678 SHARES |
इलाम । सिर्जना सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा इलामको रोङ गाउँपालिका–२ मा पाँचदिने उद्घोषण तालिम सुरु भएको छ।
महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत समूहले यस वर्ष महिलालाई लक्षित गर्दै उद्घोषण कला तथा क्षमता अभिवृद्धिसम्बन्धी तालिम सञ्चालन गरेको हो। रोङ–२ स्थित धनसारमा रहेको समूहको कार्यालयमा सुरु भएको तालिमको उद्घाटन रोङ सबडिभिजन वन कार्यालयका प्रमुख होमचन्द्र गौतमले गर्नुभएको थियो।
समूहका अध्यक्ष खुम्बा तामाङको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा सबडिभिजन प्रमुख गौतम तथा रोङ गाउँपालिका–२ का पूर्व वडाध्यक्ष टेकबहादुर तामाङले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
तालिमका सहभागीलाई अनलाइन पत्रिका खबरखेती डटकमका सम्पादक तथा पत्रकार तिलक योञ्जनले सहजीकरण गर्नुहुनेछ। उद्घाटन सत्रमा प्रशिक्षक योञ्जनले तालिमको उद्देश्य, प्रभावकारिता तथा सिकाइ प्रक्रियाबारे आफ्नो धारणा राख्नुभएको थियो।

समूहका सचिव सन्तबहादुर तामाङले उद्घाटन सत्र संचालन गर्नुभएको थियो । उहाँले उद्घोषण कला, सार्वजनिक अभिव्यक्ति र नेतृत्व क्षमता विकासमार्फत महिला तथा युवाहरुको सहभागिता र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्य रहेको जानकारी दिनुभयो ।

पाँच दिनसम्म सञ्चालन हुने तालिममा सिर्जना सामुदायिक वन उपभोक्ता क्षेत्रभित्रका ३० भन्दा बढी महिला, युवा तथा विद्यार्थीहरूको सहभागिता रहेको छ। तालिममार्फत सहभागीहरूको वाक क्षमता, उद्घोषण कला र सार्वजनिक प्रस्तुतीकरण क्षमतामा सकारात्मक विकास हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।









