मूल्य सूची र एमआरपी अनिवार्य राख्न प्रजिअ गेलालको निर्देशन



678 SHARES

झापा । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले उपभोक्ताको अधिकार संरक्षण र स्वस्थ बजार व्यवस्थापनका लागि सबै व्यवसायीले वस्तुको मूल्य सूची तथा अधिकतम खुद्रा मूल्य ९एमआरपी० स्पष्ट रूपमा राख्नुपर्ने बताएका छन्।

मंगलबार बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रजिअ गेलालले कानुनी प्रावधानको पूर्ण पालना गर्दै पारदर्शी र जिम्मेवार व्यवसाय सञ्चालन गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरे। उनले उपभोक्ताले खरिद गर्ने वस्तुको मूल्यबारे स्पष्ट जानकारी पाउने अधिकार संविधान र कानुनले सुनिश्चित गरेको उल्लेख गर्दै त्यसलाई कुनै पनि बहानामा सीमित गर्न नहुने बताए।


उनले मूल्य सूची सार्वजनिक नगर्दा उपभोक्ता अन्यायमा पर्ने र बजारमा अस्वस्थ प्रतिस्पर्धा बढ्ने जोखिम रहने उल्लेख गरे। ‘खरिदकर्ताले वस्तुको अधिकतम मूल्य थाहा पाउनु उसको नैसर्गिक अधिकार हो,’ उनले भने, ‘उपभोक्ताको अधिकार कुण्ठित हुने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन। त्यसैले सबै व्यवसायीले मूल्य सूची राख्ने र एमआरपीको पूर्ण पालना गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्छ।’

विज्ञापन

प्रजिअ गेलालले बजारलाई व्यवस्थित, प्रतिस्पर्धी र उपभोक्तामैत्री बनाउन सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए। उनले कर, बिलिङ तथा उपभोक्ता संरक्षणसम्बन्धी कानुनी व्यवस्था पालना गर्न व्यवसायीहरूलाई आग्रह गरे।

कार्यक्रममा मेची भन्सार कार्यालयका कर अधिकृत शिवलाल न्यौपाने र आन्तरिक राजस्व कार्यालय झापाका कर अधिकृत गजाधर खतिवडाले कर प्रणाली, भन्सार प्रक्रिया तथा बिलिङको महत्वबारे जानकारी गराएका थिए। उनीहरूले मूल्य निर्धारण र बिक्री प्रक्रियामा पारदर्शिता कायम गर्न सके उपभोक्ताको विश्वास बढ्नुका साथै व्यवसायिक वातावरण पनि सुदृढ हुने बताए।

उनीहरूले बजारमा मूल्य पारदर्शिता कायम गर्ने, उपभोक्ता ठगी रोक्ने तथा व्यवसायीलाई कानुनी प्रावधानबारे सचेत गराउने उद्देश्यले आयोजित कार्यक्रम प्रभावकारी भएको उल्लेख गर्दै बिर्तामोड उद्योग वाणिज्य संघको पहलको प्रशंसा गरे।

कार्यक्रममा सहभागी उद्योगी–व्यवसायीहरूले भन्सार, कर तिर्दा हुने जटिलता तथा बजार अनुगमनका क्रममा देखिने समस्याबारे जिज्ञासा राख्दै सरकारी निकायबाट थप सहजीकरण र स्पष्ट मार्गदर्शनको आवश्यकता औँल्याएका थिए।

विशिष्ट अतिथिका रूपमा उपस्थित इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बजार सुरक्षा, कानुनी व्यवस्था तथा उपभोक्ता हित संरक्षणमा प्रहरी प्रशासन सधैँ सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे। उनले व्यवसायी र सुरक्षाकर्मीबीचको समन्वयले सुरक्षित तथा व्यवस्थित व्यापारिक वातावरण निर्माणमा सहयोग पुग्ने बताए।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष जीवन खड्काले स्वागत मन्तव्य राखेका थिए भने महासचिव कुशल खतिवडाले सञ्चालन गरेका थिए।

कार्यक्रममा उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका सदस्य तथा संघका विशिष्ट सदस्य निर्मल भट्टराई, पूर्वअध्यक्षहरू वेदप्रकाश अग्रवाल, राजेन्द्रकुमार थापा र कुमार भट्टराई, महिला उद्यमी समूहकी अध्यक्ष राधिका चुडाल हुमागाईं, झापा चेम्बर अफ कमर्सका अध्यक्ष ओमकृष्ण विमलीलगायत उद्योगी–व्यवसायीको उल्लेख्य सहभागिता रहेको थियो।

व्यवसायी मिलन शाक्य, गौरीशंकर गुप्ता, युवराज निरौला र कृष्ण अधिकारीलगायतले बजार व्यवस्थापन, कर प्रणाली, उपभोक्ता अधिकार र व्यवसायिक वातावरण सुधारका विषयमा आफ्ना धारणा राखेका थिए।

सहभागीहरूले उपभोक्ता अधिकार संरक्षण, कर तथा भन्सारसम्बन्धी कानुनी व्यवस्था र व्यवसायिक पारदर्शिताबारे भएको छलफलले व्यवसायीहरूलाई थप सचेत र जिम्मेवार बन्न प्रेरित गरेको बताएका छन्। बजारमा मूल्य पारदर्शिता कायम गर्दै उपभोक्ता र व्यवसायी दुवैको हित सुनिश्चित गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा उनीहरूले जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन

लोकप्रिय

लोकप्रिय