|
679 SHARES |
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबारदेखि भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। नेपाल र भारतबीचको उच्चस्तरीय कूटनीतिक संवादलाई निरन्तरता दिने उद्देश्यले हुन लागेको यो भ्रमणमा उनले भारतीय विदेशमन्त्री एस. जयशंकर लगायत उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार यसअघि जेठ २३ गतेका लागि तय गरिएको भ्रमण केही प्राविधिक कारणले स्थगित भएको थियो। संशोधित तालिकाअनुसार मन्त्री खनाल शुक्रबार नयाँ दिल्ली प्रस्थान गर्नेछन्।
भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, व्यापार, लगानी, पारवहन, पूर्वाधार तथा आपसी हितका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ। साथै सीमा सम्बन्धी विषय र प्रधानमन्त्री बालेन्द्र शाह को सम्भावित भारत भ्रमणबारे पनि कुराकानी हुन सक्ने बताइएको छ।
यता, रवि लामिछाने नेतृत्वको टोली हाल भारत भ्रमणमै रहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग उनको भेटवार्ताले विशेष चर्चा पाएको छ। यस्तो अवस्थामा सत्तारुढ दलकै परराष्ट्रमन्त्रीको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धको नयाँ चरणका रूपमा हेरिएको छ।
कूटनीतिक स्रोतहरूका अनुसार खनालको भ्रमणले आगामी दिनमा प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणको आधार तयार पार्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।









