|
9,000 SHARES |
झापा । मिस नेपाल २०२६ का लागि झापाको बिर्तामोडमा क्षेत्रीय अडिसन सम्पन्न भएको छ। बिर्तामोड संयोजक सुनिता तामाङका अनुसार द हिडन ट्रेजरद्वारा आयोजित अडिसन बिहीबार बिर्तामोडस्थित होटल सिद्धार्थमा सम्पन्न भएको हो। बिर्तामोडमा सम्पन्न अडिसन मिस नेपाल २०२६ को देशव्यापी छनोट अभियानअन्तर्गत दोस्रो अडिसन हो।
यसअघि नेपालगञ्जमा पहिलो अडिसन सम्पन्न भइसकेको छ भने आज (शुक्रबार) इटहरीमा अडिसन सञ्चालन हुँदैछ। त्यसपछि बुटवल, पोखरा, काठमाडौं लगायतका सहरमा पनि अडिसन आयोजना गरिनेछ।
द हिडन ट्रेजरले बहुप्रतीक्षित मिस नेपाल २०२६ प्रतियोगिताका लागि जेठ २५ गतेसम्म आवेदन खुला गरेको छ। नेपाल तथा विदेशमा बसोबास गरिरहेका इच्छुक नेपाली युवतीहरूलाई प्रतियोगितामा सहभागी हुन आमन्त्रण गरिएको छ। विभिन्न स्थानमा अडिसन सुरु गरिएपनि आवेदन दिने सकिने छ । अन्तिम अडिसन भने जेठ २६ गते काठमाडौंमा हुनेछ।
प्रतियोगितामा सहभागी हुन न्यूनतम उचाइ ५ फिट ३ इन्च र उमेर १८ देखि २७ वर्षबीच हुनुपर्ने व्यवस्था गरिएको छ। आवेदकसँग नेपाली नागरिकता अनिवार्य हुनुपर्नेछ भने विदेशमा बसोबास गर्ने नेपालीहरूले गृह मन्त्रालयबाट जारी एनआरएन कार्डका आधारमा आवेदन दिन सक्नेछन्। प्रतियोगितामा दर्ता निःशुल्क रहेको आयोजकले जनाएको छ।
मिस नेपालको खोज अभियानअन्तर्गत बिर्तामोड, इटहरी, बुटवल, पोखरा, नेपालगञ्ज र जनकपुरमा अडिसन सञ्चालन गरिनेछ। साथै काठमाडौंका १० वटा कलेजमा मिस नेपाल एक्टिभेसन अभियान पनि सञ्चालन हुने जनाइएको छ।
अडिसनबाट छनोट भएका प्रतिस्पर्धीहरूले ग्रान्ड फिनालेअघि आवश्यक प्रशिक्षण तथा ग्रुमिङ प्राप्त गर्नेछन्। मिस नेपाल २०२६ को ग्रान्ड फिनाले श्रावण १६ गते शनिबार पुल्चोकस्थित द प्लाजामा आयोजना गरिने तय भएको छ।










