मनसुनको जोखिम सामना गर्न झापामा ‘अभ्यास मनसुन–६’



9,000 SHARES

झापा । मनसुनजन्य विपद्का घटनाबाट हुन सक्ने जोखिम न्यूनीकरण तथा पूर्वतयारीका लागि झापामा “अभ्यास मनसुन–६” अन्तर्गत संयुक्त विपद् प्रतिकार्य सिमुलेशन अभ्यास सम्पन्न गरिएको छ ।

मेचीनगर–१३ र १४ स्थित निचाझोडा सिमसार क्षेत्रमा श्री नं. २१ वाहिनी अड्डाअन्तर्गत श्री अरिदमन गण चारआली ब्यारेकको आयोजनामा उक्त अभ्यास सम्पन्न भएको हो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला रेडक्रस सोसाइटीसहित विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

विज्ञापन

अभ्यास मनसुन–६ को पहिलो चरणअन्तर्गत जेठ ७ गते जिल्ला प्रशासन कार्यालय झापामा जिल्लास्थित सुरक्षा निकाय, जिल्ला रेडक्रस, स्थानीय जनप्रतिनिधि तथा राष्ट्रिय सेवादलमा आबद्ध विद्यार्थीहरूको सहभागितामा ‘टेबल टप एक्सरसाइज’ सञ्चालन गरिएको थियो । त्यसपछि दोस्रो चरणअन्तर्गत जेठ ८ देखि १३ गतेसम्म ‘फिल्ड ट्रेनिङ एक्सरसाइज’ सम्पन्न गरिएको आयोजकले जनाएको छ ।

विज्ञापन

फिल्ड ट्रेनिङअन्तर्गत श्री अरिदमन गण चारआलीका गणपतिको नेतृत्वमा सञ्चालन गरिएको ‘लङ रेन्ज पेट्रोल’ का क्रममा मेचीनगर, भद्रपुर, हल्दीबारी, बाह्रदशी र झापा गाउँपालिकाका विभिन्न विद्यालयमा शिक्षक, विद्यार्थी, जनप्रतिनिधि तथा स्थानीय बासिन्दाको उपस्थितिमा विपद् प्रतिकार्यसम्बन्धी जनचेतनामूलक कक्षा सञ्चालन गरिएको थियो ।

समापनका रूपमा गरिएको संयुक्त विपद् प्रतिकार्य सिमुलेशन अभ्यासमा तीव्र बहावयुक्त नदीमा खोज तथा उद्धार, हाई लाइन रोप रेस्क्यु, अन्डर वाटर रिभर रेस्क्यु, स्थानीय स्रोतसाधन प्रयोग गरी तयार गर्न सकिने उद्धार सामग्रीको प्रयोग, विपद्पछिको राहत वितरण तथा पुनःनिर्माणलगायतका विषयमा अभ्यास गरिएको थियो ।

निकट भविष्यमा झापाका नदी तटीय क्षेत्रमा हुन सक्ने मनसुनजन्य विपद्को जोखिम न्यूनीकरण तथा सुरक्षा निकायबीच समन्वय, समान बुझाइ र कार्यसम्पादनमा सहजता ल्याउने उद्देश्यले अभ्यास सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ ।

अभ्यास अवलोकनका लागि जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी, अर्जुनधारा नगरपालिकाका नगरप्रमुख र उपप्रमुख, विभिन्न सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधि, जिल्ला रेडक्रस, विभिन्न कार्यालयका प्रतिनिधि, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी तथा स्थानीय बासिन्दासहित करिब ४५० जनाको उपस्थिति रहेको थियो ।

सिमुलेशन अभ्यासपश्चात् सुरक्षा निकायहरूले विपद् प्रतिकार्यमा प्रयोग हुने विभिन्न उद्धार सामग्रीको प्रदर्शनीसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय