महासंघ झापाको साधारणसभा : सरकारी सूचना तथा विज्ञापन नीतिप्रति असन्तुष्टि



9,000 SHARES

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा सहभागी अधिकांश वक्ताले सरकारी सूचना तथा विज्ञापन नीतिप्रति असन्तुष्टि जनाएका छन् ।

महासंघ झापाका अध्यक्ष एकराज गिरी को अध्यक्षता तथा महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्य को प्रमुख आतिथ्यमा सम्पन्न सभामा वक्ताहरूले सरकारको पछिल्लो कदमले स्थानीय सञ्चारमाध्यमलाई कुण्ठित बनाएको धारणा राखेका थिए ।

विज्ञापन

कार्यक्रममा प्रमुख अतिथि आचार्यले सरकारी सञ्चारमाध्यमलाई मात्र एकलौटी रूपमा सूचना प्रवाह गर्ने प्रवृत्तिको विरोध गर्दै त्यसलाई सच्याउन सरकारलाई आग्रह गरे । निजी सञ्चारमाध्यमले स्थानीय तहमा विश्वसनीय सूचना प्रवाह गर्दै आएको उल्लेख गर्दै उनले सरकारी विज्ञापनबाट वञ्चित गरिँदा पत्रकार मात्र नभई आम नागरिक नै सूचनाबाट वञ्चित हुने बताए । उनले राष्ट्रिय मिडियामा प्रकाशन हुने ठेक्का–पट्टासम्बन्धी सूचनामा हुने कमिशन प्रवृत्तिलाई रोक्ने नाममा स्थानीय मिडियालाई लोककल्याणकारी सूचना रोक्नु लोकतन्त्रविरोधी भएको टिप्पणी गरे ।

विज्ञापन

महासंघ झापा शाखाका उपाध्यक्ष सुव्रत न्यौपाने ले स्वागत गरेको कार्यक्रममा अध्यक्ष गिरीले वर्षभरि सञ्चालन गरिएका गतिविधिबारे जानकारी गराउँदै वर्तमान नीतिले स्थानीय सञ्चारमाध्यमलाई कमजोर बनाउने खतरा रहेको बताए । उनले सामाजिक सञ्जालमा आउने सामग्रीलाई समाचारको रूपमा नलिन आग्रह गर्दै आधिकारिक र प्रमाणित सूचनाको पहिचान गर्नुपर्ने आवश्यकता औंल्याए ।

गिरीका अनुसार ‘सहारा पत्रकार उपचार कोष’लाई आगामी दिनमा दुई करोड रुपैयाँ पु¥याउने लक्ष्य लिइएको छ । हाल कोषमा करिब १ करोड ३२ लाख रुपैयाँ संकलन भइसकेको जानकारी दिँदै उनले साधारणसभामै विभिन्न दाताबाट सहयोग प्राप्त भएको बताए ।

कार्यक्रममा कोशी प्रदेश अध्यक्ष भरत खड्का, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, पूर्व अध्यक्ष कृष्ण हुमागाईं, अग्रज पत्रकार चन्द्र भण्डारी, मोरङ अध्यक्ष सुशीला पाठक, प्रेस युनियन झापा अध्यक्ष गिरीराज भट्टराई, प्रेस चौतारी झापा अध्यक्ष प्रदीप परियार, प्रेस सेन्टर झापा अध्यक्ष पुष्प खड्का लगायतले पनि सरकारी विज्ञापन नीतिप्रति आपत्ति जनाएका थिए ।

सो अवसरमा विभिन्न व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो । भद्रपुर प्रेस क्लबलाई सम्मान गरिनुका साथै १२१ पटक रक्तदान गरेको भन्दै हल्दीबारी प्रेस क्लबका अध्यक्ष नेत्रबिक्रम बिमली र महासंघलाई सहयोग गरेको भन्दै शिक्षक तथा पत्रकार रञ्जित परियार लाई नगदसहित सम्मान गरिएको थियो ।

लैङ्गिक पत्रकारितामा योगदान पु¥याएको भन्दै गृष्मा सापकोटा लाई २५ हजार रुपैयाँसहित ‘लैङ्गिक समानता पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो । उक्त पुरस्कार विशेश्वर प्रसाद बजगाईं (विपीन) र विनिता–होमकला बजगाईंले स्थापना गरेका हुन् ।

त्यसैगरी महासंघ झापाले प्रकाशन गरेको ‘चौथो अङ्ग’ म्यागजिनको विमोचन पनि गरिएको थियो । कार्यक्रममा सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी तथा सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमकै क्रममा बिर्तामोडस्थित होटल द किङ्सबरीकी कार्यकारी निर्देशक जानु धिताल र इष्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालयलाई कदरपत्र प्रदान गरिएको थियो । साथै पत्रकार सहारा उपचार अक्षयकोषका लागि विभिन्न दाताबाट आर्थिक सहयोग प्राप्त भएको जनाइएको छ ।

कार्यक्रममा प्रहरी उपरीक्षक वशुन्धरा खड्का, अरिदमन गण चारआलीका प्रमुख सेनानी सरोज थापा, सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण हेडक्वाटर झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका प्रमुख उमेश पाण्डे, महासंघ कोशी प्रदेश उपाध्यक्ष कुमुद अधिकारी, उपाध्यक्ष अम्बिका भण्डारी, महासचिव हिमा चेम्जोङ लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन महासंघ झापाका सचिव राजु पाठक ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय