|
9,000 SHARES |
झापा । बिर्तामोडस्थित बिर्तामोड चिल्ड्रेन अस्पतालले नव वर्ष २०८३ को अवसर पारेर बालबालिकालाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।
अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार वैशाख ७ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने उक्त शिविरमा बालबालिकाको स्वास्थ्य परीक्षण तथा उपचार सेवा सहजरूपमा उपलब्ध गराइनेछ। शिविर अवधिभर ओपीडी सेवा निःशुल्क प्रदान गरिनेछ भने विभिन्न ल्याब परीक्षणमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. सुजता मैनाली आचार्यका अनुसार नवजात शिशुदेखि बालबालिकासम्मका बिरामीलाई लक्षित गरी विशेषज्ञ चिकित्सक टोलीबाट सेवा प्रदान गरिनेछ। साथै, बालरोग तथा पोषणसम्बन्धी समस्याको पहिचान र उपचारमा विशेष ध्यान दिइने उनले बताइन्।
आर्थिक अभावका कारण उपचारबाट वञ्चित बालबालिकालाई राहत पुर्याउने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको अस्पतालले जनाएको छ। विपन्न तथा ग्रामीण क्षेत्रबाट आउने सेवाग्राहीलाई स्थानीय तहको सिफारिसमा थप छुटको व्यवस्था समेत गरिनेछ।
अस्पतालले आधुनिक उपकरणसहित २४सै घण्टा सेवा प्रदान गर्दै आएको जानकारी दिँदै आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिने जनाएको छ।










