|
9,000 SHARES |
झापा, अर्जुनधारा। अर्जुनधारामा जारी यू–१३ इन्डो–नेपाल टी–२० च्याम्पियन्स ट्रफी अन्तर्गत समूह ‘बी’ को चौथो खेलमा भारत पटनाको हाई पर्फमेन्स (एचपी) क्रिकेट एकेडेमीले विराटनगरको लायन्स क्रिकेट क्लबमाथि ५ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ।
पहिले ब्याटिङ गरेको लायन्स क्रिकेट क्लबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४० रन बनाएको थियो। टोलीका लागि सुभाष माब्दालले २१ बलमा ६० रनको विस्फोटक पारी खेले। यस्तै युवराज सिंह बेगवानीले ३२ बलमा २१ रन तथा आशिष अधिकारीले ६ बलमा १९ रन जोडे।
बलिङतर्फ एचपी क्रिकेट एकेडेमीका कृष्णले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए भने शशांक शेखर र साहिल कुमारले समान १–१ विकेट हात पारे।
१४१ रनको लक्ष्य पछ्याएको एचपी क्रिकेट एकेडेमीले १९.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। टोलीका लागि जित ज्योतीले ३१ बलमा ३३ रन बनाए भने अंशु कुमारले १५ बलमा ३२ रनको महत्वपूर्ण योगदान दिए। उनले अन्तिम ओभरका दुई बलमा लगातार छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए। अंशु कुमार खेलको म्यान अफ दि म्याच भए । साथै अंकित कुमारले १९ बलमा २० रन जोडे।

लायन्सका बलर राघव कार्कीले ४ ओभरमा १६ रन दिँदै ३ विकेट लिए भने करिथाथा बस्नेत र विभान चापागाईंले समान १–१ विकेट लिए।
यसअघि आजै समूह ‘बी’ को तेस्रो खेलमा इनरुवा क्रिकेट एकेडेमीमाथि फुलबारी स्पोर्ट्स एकेडेमीले १ विकेटको रोमाञ्चक जित निकालेको थियो। समूह चरणअन्तर्गत प्रत्येक दिन दुई खेल भइरहेको छ।
अर्जुनधारा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा बोस्टन क्रिकेट एकेडेमीको सहआयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा नेपाल र भारतका गरी १० वटा यू–१३ टोलीहरूको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेता टोलीले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।










